आज देशभर मौसम बदली‚ केही प्रदेशमा हिमपात र वर्षाको सम्भावना
देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले हाल प्रदेश १ र २ लगायत क्षेत्रमा बदली भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
बुधबार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ।
हिमपात र वर्षाका कारण हुने चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।