एपीएफलाई हराउँदै आर्मीको विजयी सुरूआत
पोखरा । विभगीय टोली त्रिभुवन आर्मी क्लबले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबलमा महिलातर्फ पहिलो जित हासिल गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा मंगलबार भएको पहिलो खेलमा अर्का विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै आर्मीले पहिलो जित हासिल गरेको हो।
पहिलो सेट १८-२५ ले गुमाएको आर्मीले खेलमा पुनआगमन जित निकालेको हो । आर्मीले त्यसपछिका तीन सेट लगातार २५-१९, २५-२० र २५-१४ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो।
जितसँगै आर्मीले दुई खेलबाट ३ अंक जोडेको छ । यसअघि सोमबार भएको आफ्नो पहिलो खेलमा आर्मी न्यु डायमण्ड स्पोर्ट्स क्लबसँग ३-१ को सेटमा पराजित भएको थियो ।
आर्मीले पहिलो जित हासिल गर्दा एपीएफको भने यो पहिलो हार हो । सोमबार भएको आफ्नो पहिलो खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै तीन अंक जोडेको थियो । एपीएफको पनि दुई खेलमा तीन अंक जोडेको छ ।
प्रतियोगिताको फाइनल खेल माघ १ गते हुनेछ । प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब गरि पाँच टोली सहभागि छन् ।
यस्तै महिलातर्फको सहभागि पाँच टोलीमा आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसहित नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब र होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब रहेको छ ।
प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान ३ लाख प्राप्त गर्दा उपविजेता टोलीले १ लाख ५० हजार तथा तृतियले हुनेले ७५ हजार प्राप्त गर्नेछ ।
त्यस्तै सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
महिला तथा पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गर्दा हरेक विधाका उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो र प्रशिक्षक) ले समान १०–१० हजार प्राप्त गर्नेछन् ।