मोटरसाइकल चोरी गरी रुपइडिहा लैजाने क्रममा चोर जमुनाह प्रहरीको फन्दामा
सुर्खेत । इलाका प्रहरी कार्यालय जमुनाहले चोरी भएको मोटरसाइकलसहित एक जना चोरलाई पक्राउ गरेको छ ।
जमुनाह प्रहरीको टोलीले आज बिहान पौने ९ बजे नेपालगन्ज १५ जमुनाह गाउँ हुँदै चोरी भएको मोटरसाइकललाई भारतको रुपइडिहा लैजाने क्रममा भे २ प ८६९५ नम्बरको मोटरसाइकल र चोरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।
चोरी भएको मोटरसाइकलसहित पक्राउ पर्नेमा नेपालगन्ज १४ गोसाईपुरवा बस्ने समही कोरी रहेका छन् । मोटरसाइकल चोरी भएको र उक्त मोटरसाइकल भारततर्फ लैजान सक्ने भन्दै जमुनाह प्रहरीलाई खबर प्राप्त भए पश्चात् अवैध नाकाहरुमा प्रहरी परिचालन गरिएको थियो । गए रातीदेखि निगरानी बढाएको जमुनाह प्रहरीले आज बिहान उक्त मोटरसाइकल र चोरलाई नियन्त्रणमा लिन सफल भएको हो ।
मोटरसाइकलसहित पक्राउ परेका कोरीसँग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।