Skip to main content
२०७८ श्रावन २१, बिहिबार

पर्यटन पूर्वाधार विकासका लागि कर्णालीका १६ गन्तव्य छनोट

सुर्खेत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्णाली प्रदेशका १६ ओटा पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधार विकास गर्ने भएको छ । केन्द्रदेखि स्थानीय तहसम्मको अर्थतन्त्रमा योगदान पुर्‍याउनेलगायत लक्ष्य राखेर भदौमा मन्त्रालयले देशभरका स्थानीय तह तथा प्रदेशका पर्यटकीय गन्तव्यको साझेदारीमा विकास गर्न प्रस्ताव आह्वान गरेको थियो । उक्त सूचनाका आधारमा मन्त्रालयमा प्राप्त ७१३ ओटा प्रस्तावमध्ये कर्णालीबाट १६ ओटासहित देशभरका २०० पर्यटकीय गन्तव्य छानिएका छन् । कर्णालीका रुकुम पश्चिमको आठवीसकोट नगरपालिकास्थित लक्ष्मी नारायण मन्दिर र भेरी नदीमा जेटबोट सञ्चालन एवं कालापानी खानेपानी सिँचाइ आयोजनाका लागि ६ करोड ९९ लाख लाग्ने अनुमान गरिएको छ । त्यस्तै रुकुमको बाँफिकोट गाउँपालिकाको स्यार्पुताल वरिपरि प्रतीक्षालय, बाटो तथा अन्य पूर्वाधार निर्माणका लागि ३ करोड ९३ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

यस्तै चौरजहारी नगरपालिकाको मालिका पर्यटकीय क्षेत्र विकास तथा पदमार्ग निर्माण कार्यक्रमका लागि ६ करोड ५० लाख, हुम्लाको खार्पुनाथ गाउँपालिकाको खापुनार्थ शिवालय पर्यटकीय पूर्वाधार विकास आयोजनाका लागि ५ करोड, सिमकोट गाउँपालिकाको रलिङ तीर्थ सडक निर्माणका लागि ५ करोड, दैलेखको विन्द्रासैनी नगरपालिकाको नगरपार्क निर्माणका लागि ५ करोड लागत अनुगमान गरिएको छ । यसैगरी दैलेखको दुल्लु नगरपालिकाको पञ्चकोशी पर्यटन क्षेत्र संरक्षण तथा पूर्वाधार विकास कार्यक्रमतर्फ ७ करोड, भगवतीमाई गाउँपालिकाको मायाराम स्मृति पार्क निर्माण आयोजनाका लागि ३ करोड ३२ लाख, जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्यूलो संरक्षण तथा संवद्र्धनका लागि २ करोड, कालिकोटको रास्कोट नगरपालिकाको बडीमालिकादेखि देउरामालिका सडक स्तरोन्नति आयोजनाका लागि २ करोड, सुर्खेतको भेरीगंगा नगरपालिका–८, डुम्कोट दलित संग्रहालयका लागि ४ करोड ४५ लाख, सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको कुपिण्डे ताल पूर्वाधार विकासका लागि ६ करोड ८१ लाख, जाजरकोटको भेरी नगरपालिकाको पर्यटकीय स्थल मालिका मन्दिर निर्माणका लागि ३ करोड, नलगाड गाउँपालिकाको खानटाकुरा शहीद स्मृति भवन निर्माणका लागि १ करोड ५० लाख, कालिकोटको खाँडाचक्र नगरपालिकाको नैनीकाध–जिउली–धर्मशाला निर्माण र चुलीमालिका मन्दिर क्षेत्र पर्यटन पूर्वाधार क्षेत्र विकासका लागि १ करोड ९८ लाख, पचालझरना गाउँपालिकाको पदमार्ग निर्माणका लागि ५ करोड रुपैयाँ लागत खर्च अनुमानित गरिएको छ ।

वार्षिक १ अर्ब आम्दानी हुने अपेक्षासहित सरकारले छानेका आयोजनामा प्रायः पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक, पदमार्ग, शपिङ कम्प्लेक्स, साइकल ट्र्याक, संग्रहालय, पिकनिक स्पट, गुम्बा, स्मृति पार्क, फनपार्क आदि छन् । यी स्थलमा मन्त्रालयले स्थानीय तहको साझेदारीमा एक वर्षदेखि तीन वर्षसम्म पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास गर्नेछ । यी आयोजनाका लागि केन्द्रीय सरकारले ६ अर्ब ८० करोड बजेट विनियोजन गरेको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । यसमा स्थानीय तहले थप ३० प्रतिशतसम्म अतिरिक्त बजेट थप्नुपर्नेछ ।

यी आयोजना सञ्चालनका क्रममा ५ लाख ४० हजारले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने अपेक्षा छ । साभार ः आर्थिक अभियान

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: