Skip to main content
२०७८ श्रावन २१, बिहिबार

अब सबै होटलहरूमा सरकारी निशान छाप

काठमाडौं । सरकारले मुलुकभरमा रहेका सबै प्रकारका होटलहरूमा सरकारी निशान छाप अंकित संकेतहरू राख्नुपर्ने नियम ल्याएको छ ।

सरकारले सबै होटललाई अनिवार्य रूपमा आफ्नो वर्गीकरणअनुसारको संकेतहरू देखाउनुपर्ने बाध्यकारी नियम ल्याएको हो । सरकारको यो नियमसँगै अब सबै होटलहरूको साइबोर्डमा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको चुच्चे नक्सा अंकित निशान छाप देख्न पाइनेछ । यो प्रावधान छिटै सबै होटलहरूमा लागू हुने पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागले सबै स्तरका रिसोर्ट, तारे स्तरका होटल र पर्यटकीय सबै स्तरका बुटिक होटलका लागि पहिलोपटक संकेतहरू निर्धारण गरेको हो ।

यसअघि पर्यटक विभागले तारे होटललाई मात्र स्टार वर्गीकरणमा राखेको थियो । डिलक्स र बुटिक होटलको स्पष्ट मापदण्ड निर्धारण भएको थिएन । यस्ता होटललाई पर्यटकीय स्तरका होटलहरू मात्र भनिँदै आएको थियो । अब सबै वर्गका होटल तथा रिसोर्टले आफ्नो वर्गीकरणअनुरूपको पहिचान दिने संकेतहरू प्र्रस्ट देखिने सरकारी निशानछापसहितको साइनबोर्ड होटलको गेटमै राख्नुपर्ने नयाँ व्यवस्था गरिएको विभागले जनाएको छ ।

– होटल पुग्ने पाहुनाले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा अंकित निशान छाप देख्ने
– होटलहरूले अनिवार्य वर्गीकरणअनुसारको संकेत चिह्न देखाउनुपर्ने
– बुटिक र डिलक्स होटललाई समेत ‘स्टार’ वर्गीकरण

जसअनुसार अब नेपालमा बुटिक र डिलक्स होटलले समेत ‘स्टार’ वर्गीकरण पाउने भएका छन् । यसबाहेक होटल संघसँग सम्बन्धित संघ संस्थामध्ये आफू कुन संघमा आवबद्ध भएको हो, यस्तो आबद्धता रहेको संस्थाको समेतहरू बोर्डमै राख्नुपर्नेगरी विभागबाट निर्णय भएको छ ।

पर्यटन विभागले गरेको यस्तो निणर्यअनुसार अब मुलुकभर सञ्चालित एक तारेदेखि पाँचतारेसम्मका होटलको संकेतहरू क्रमशः एकतारादेखि पाँच तारासम्म स्पष्ट्र देख्नेगरी मुख्य प्रवेशद्वारमा राख्नुपर्नेछ । यसैगरी, पाँचतारे डिलक्स होटलका लागि पाँचतारा र डिलक्स शब्द राख्नुपर्नेछ । साधारण हेरिटेज बुटिक होटलको न्यूनतम स्तर तीनतारे कायम गरिएको छ । जसको संकेतहरूमा ‘तीनतारा र स्टान्डर्ड हेरिटेज’ भन्ने शब्द राख्नुपर्नेछ । डिलक्स हेरिटेज बुटिक होटलका लागि ‘चारतारा र डिलक्स हेरिटेज बुटिक’ शब्दले संकेत गनुपर्ने हुन्छ । त्यसैगरी, पर्यटकीय लक्जरी हेरिटेज बुटिक होटलका लागि ‘पाँचतारा र लक्जरी हेरिटेज बुटिक’ शब्द राख्नुपर्नेछ ।

यस नयाँ व्यवस्थाअनुसार पर्यटकीय रिसोर्टतर्फ साधारण रिसोर्टले तीनतारे स्तरको मान्यता पाएको छ । यस्तो रिसोर्टले तीनतारा र स्टान्डर्ड रिर्सोट शब्द लेखेको संकेतहरू राख्नुपर्ने हुन्छ । डिलक्स रिसोर्टले चारतारा, लक्जरी रिसोर्टले पाँचतारा र लक्जरी रिसोर्ट शब्द राखेर आफ्नो रिसोर्टको पहिचान जनाउन सक्नेगरी निर्णय भएको विभागले जनाएको छ ।

विभागका अनुसार अब पर्यटक स्तरका होटलको संकेतहरू ‘टीएस’ हुनेछ । साबिकमा पर्यटन विभाग र मातहतका कार्यालयबाट पर्यटक स्तरको होटलको स्तर वर्गीकरण भएका र हाल प्रदेश सरकारको निकायबाट यस स्तरको होटलमा वर्गीकरण भएका सबै होटलले गोलाकार रेखाभित्र रातो रंगमा (टीएस) लेखेकोहरूलाई आफ्नो होटलको संकेतहरूका रूपमा प्रयोग गरी देखाएर राख्नुपर्नेछ ।

यसैगरी, मोटलका लागि भने सरकारले ‘एम’संकेतहरू दिएको छ । यस्तो प्रकारका होटलका लागि गोलाकार रेखाभित्र रातो रंगमा ‘एम’ लेखिएका निर्धारण गरिएको छ । साबिकमा पर्यटन विभाग र मातहतका कार्यालयमा दर्ता भएका र अहिले प्रदेश सरकारको सम्बन्धित निकायमा दर्ता भएका मोटेलले यस्ता चिह्न प्रयोग गर्नुपर्नेछ । ‘पर्यटक इन’ स्तरमा वर्गीकरण भई सञ्चालनमा रहेका होटलले भने ‘आई’ संकेतहरू प्रयोग गर्नुपर्नेछ । बेड एन्ड ब्रेकफास्टका रूपमा दर्ता भएका होटलहरूको संकेतहरू गोलाकार घेराभित्र रातो रंगमा ‘बीएन्डबी’ लेखिएकोलाई संकेतका रूपमा निर्धारण गरिएको छ ।

पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले मुलुकभर सञ्चालित होटलहरूलाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले सरकारले पहिलोपटक वर्गीकरणअनुसारको संकेतहरू देखाएर राख्नुपर्ने नयाँ व्यवस्था गरिएको बताए । उनले यस्तो नियमले अव्यवस्थित रूपमा रहेका होटललाई नियमन गर्न र होटलमा पुग्ने पाहुनालाई पनि आफू बस्ने होटलको स्तरका बारेमा राम्रो जानकारी हुने अपेक्षा गरिएको बताए । साभार ः राजधानी दैनिक

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: