आस्थाका मुर्ति खुल्ला आकाशमुनि
दैलेख । संरक्षणको अभावले दैलेखको पादुका मन्दिरका मुर्ति जीर्ण बन्दै गएका छन् । संघ र प्रदेश र स्थानीय सरकार मुर्ति संरक्षणमा चासो नदिदा मुर्ति बर्षौ देखी खुल्ला आकाशमुनि छन् । र प्रदेश सरकारले दुल्लूनगर पालिकामा –९ मा पर्ने पादुकास्थान दैलेख पञ्चकोशी तीर्थस्थल मध्ये अन्तिम तिर्थस्थल हो । कुनै बेला १६० वटा मन्दिर रहेको पादुकामा एउटा पनि मन्दिर छैन । बाँकी रहेका मन्दिर जीर्ण छन् । झारपात उम्रिएर जीर्ण मन्दिर खर मेला जस्ता देखिन्छ । त्यो क्षेत्रमा कालिका मन्दिर नयाँ निर्माण गरिएको छ भने, धुनीघरलाई मर्मत गरिएको छ जहाँ मन्दिरमा आएका धर्मालम्बी र मन्दिरका पुजारी बस्ने गर्छन ।
मन्दिर नहुँदा पादुका स्थानका विभिन्न ढुंगा मुर्ति छरपस्ट खुल्ला आकाशमुनि छन् । छरिएर राखिएका अधिकाँश मुर्ति भाँचिएका छन् । बाँकी रहेका मुर्तिमा लेउ,झयाँउ समेत लागेर के को मुर्ति हो भनेर आंकलन गर्न सकिने अवस्था छैन । खुल्ला आकाशमुनि छरपस्ट मुर्ति हुँदा पादुकास्थानबाट अहिलेसम्म सात वटा मुर्ति चोरी सकेका छन् । चोरिएका मुर्ति अहिलेसम्म फेला परेका छैनन् । २०७६ मंसिरमा अष्टधातुको गणेशको मुर्ति चोरिएको थियो ।
जिल्ला सदरमुकामबाट मध्यपहाडी लोकमार्ग भएर जाँदा १ घण्टामै पादुका मन्दिर क्षेत्रमा पुगिन्छ । धार्मिक र पुरातात्विक रुपमा पादुका शिरस्थाना,नाभिस्थान,कोटिला र धुलेश्वर जतिकै महत्वपुर्ण मानिन्छ । पादुका मन्दिरमा कुनै कालखण्डमा बौद्ध विहार समेत रहेको त्यहाँका अवशेषहरुले देखाएका छन् । श्रीस्थान र नाभिस्थान जस्तै पादुका मन्दिरमा सदयौंदेखी निरन्तर बल्ने ज्वाला मन्दिर २०१३ सालमा देवघाटमा आएको भिषण बाढीले बगाईदिएपछि हाल यस ठाउँमा ज्वाला बल्न छोडेको छ ।
महत्वुर्ण मुर्तिहरु रहेको यस क्षेत्रमा पश्चिम नेपालका तत्कालिन शक्तिशाली शासक अशोक चल्लको पालामा पादुकाको २ मिटर अग्लो ४५ सेन्टिमिटर चाक्लो ढुगाको स्तम्भमा ईं.सं. १२४० मा कुदिएको एशियाकै दुर्लभ मानिने बुद्धको मुर्ती सँगै दुर्लभ चार हाते गणेशको मुर्ति समेत रहेको छ ।

स्वस्थानी ब्रतकथा अनुसार सत्ययुगमा महादेवकी पत्नी सत्तिदेवीको मृत्यु भएपछि महादेवले सतिदेवीको शवलाई काँधमा बोकेर संसार परिक्रमा गर्ने क्रममा सतिदेवीको कोख पतन भई कोटिला, शिर पतन भई श्रीस्थान, नाभि पतन भई नाभिस्थान, पाउ पतन भई पादुका, र बाँकी अंस पतन भई धुलेश्वर शक्ती पिठहरु रहन गएको भन्ने उल्लेख गरिएको छ । पञ्चकोशी तिर्थ यात्रा पुरा गरे जिवनमा गरेका पापहरु नष्ट हुने र पुण्य प्राप्त हुने भक्तजनहरुको विश्वास रहेको छ ।

तस्वीर : भक्तबहादुर शाही
कोभिडको महामारीमा भक्तजन आउन सकेनन् । मन्दिरमा आउने भक्तजनलाई बासको समस्या भएकाले सोचे जस्तो नआउने गरेको महन्त देवीनाथ योगीको भनाई छ ।
पादुका पाँच थान पञ्चकोशी तीर्थस्थल मध्ये सबै भन्दा बढी मुर्ति रहेको मन्दिर पादुकास्थान हो । खुल्ला आकाश मुनि मुर्ति रहेकाले मन्दिरमा पुग्ने भक्तजनले चलाउँदा मुिर्त भाँचिएका छन् केही मुर्ति चोरी भएका छन् । कति मुर्ति थिए आंकलन गर्न सक्ने अवस्था छैन, भने मुर्तिमा लेउ समेत लागेको छ । धार्मिक सम्पदा भनेर चिनिएका दैलेख पञ्चकोशी तिर्थस्थलाई जीवित राख्नको लागि संघिय,प्रदेश र स्थानीय सरकारले मुर्तिको महत्वलाई धार्मिक सम्पदालाई जिवित्त राख्न गुरुयोजना बनाएर लागि परे मात्र धार्मिक सम्पदाको संरक्षण हुने देखिन्छ । मन्दिर नजिकै क्रसर सञ्चालन गर्दा दिनुहँ देवघाट खोलाले बहाव बदलेको छ ।
