वेलकम प्याराग्लाइडिङ प्रालि द्वारा सुर्खेतमा प्याराग्लाईडिङ उडान सुरु।
सुर्खेत । आइतबारदेखि सुर्खेत आकाशमा प्याराग्लाइडिङ सुरु हुने भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर—१४ गढीदेखि वीरेन्द्रनगर—१ को देउती थानसम्म प्याराग्लाइडिङ उडाउन गर्न लागिएको हो।
आइतबारबाट वेलकम प्याराग्लाइडिङ प्रालि सुर्खेतले नियमित उडान सुरु गर्न लागेको हो। पोखराका प्याराग्लाइडिङ व्यवसायी सानुबाबु सुनुवार र कर्णाली प्रदेश उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पदम बहादुर शाहीको संयुक्त साझेदारीमा प्याराग्लाइडिङ सुरु गरिएको हो।
२०७० सालदेखि पटक-पटक गरी चार पटक सुर्खेत आकाशमा प्याराग्लाइडिङ उडान गरिए पनि दक्ष जनशक्ति अभावका कारण रोकिएको वेलकम प्याराग्लाइडिङ प्रालिका अध्यक्ष एवं उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले बताए।
यसअघि प्याराग्लाइडिङमा उड्न पोखरा धाउनु पर्ने बाध्यताको अन्त्य गरिएको उनको भनाई छ।
‘पहिला पनि चार पटकसम्म सुर्खेतमा प्याराग्लाइडिङ सुरु गरेका थियौँ। दक्ष जनशक्तिको अभावमा रोकिएको थियो अध्यक्ष शाहीले भने, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि प्याराग्लाइडिङ व्यवसायी तथा विज्ञ सानुबाबु र मैँले साझेदारीमा प्याराग्लाइडिङलाई निरन्तरता दिनेछौँ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्याराग्लाइडिङमा विशेष सहुलियतसहितको सेवालाई निरन्तरता दिन लागिएको उनले बताए।
निजी पर्यटन कम्पनी वेलकमले टिकट बुकिङ खुला गरेको घोषणा गरेको छ। कर्णालीमा पर्यटन गतिविधि अगाडि बढाउन प्याराग्लाइडिङबाट गोठीकाँडादेखि वीरेन्द्रनगर भ्याली भ्रमणका लागि फोटो र भिडियोसहित चार हजार ५ सय रुपैयाँ कायम गरेको छ। यो दरमा पर्यटकलाई फोटो र भिडियो आवश्यक नपरेको खण्डमा तीन हजार ५ सय रुपैयाँमा प्याराग्लाइडिङको मज्जा लिन सक्नेछन्।