दुर्गमका विद्यालयको दुर्दशा
माझखर्क (दैलेख) । बाहिरबाट झटट् हेर्दा लाग्छ विद्यालय तत्कालिन द्धन्द्धको निशाना बनेको साँक्षी भवन हो । स्थानीय सरकारले त्यो भवनलाई संग्रालय बनाउन खोजेको होकि भन्ने स्कुलको अवस्थाले झल्काउँछ । जीर्ण भवन छ चुहिन्छ । कक्षा कोठा छन्,झया्ल र ढोका छैनन् । वोर्ड छ प्वाल परेको छ । त्यही प्वाल परेको बोर्ड शिक्षकले विद्यार्थीलाई ज्ञानका कुरा सिकाई रहेका छन् । विद्यार्थीले धुलोमा बसेर शिक्षा हासिल गईरहेका छन् । फर्निचरको अभाव उस्तै छ । छात्रा मैत्री शौचालय छैन । शौचालय अभावले छात्रा जंगलमा गएर सेनेटरी प्याड बदल्नुपर्ने बाध्यता छ ।
यो दृश्य भएको विद्यालय हो ठाटीकाँध गाउँपालिका -३ को माझखर्कको श्रीकृष्ण आधारभुत विद्यालय हो । जुन विद्यालयको अवस्था दयनिय छ । भौतिक पुर्वाधारको मात्र होइन । शिक्षकको संख्या समेत कम छ । विद्यालयमा अझै पनि तीनवटा किताब पुगेका छैनन् । दुई बर्षदेखी विज्ञान विषय पढाई भएको छैन । विज्ञान विषय नपढेरै विद्यार्थी परिक्षा दिने गरेको कक्षा ७ की छात्रा मनिषा भण्डारीले बताईन ।
गाउँपालिकाको कर्णाली भनेर चिनिने माझखर्कको विद्यालय प्रति गाउँको सिंहदरबार बेखवर छ । विद्यालयको समस्या प्रति अनविज्ञ छ ।विद्यार्थीले किताब नपाएको गुनासो सुन्दैन । दुई बर्षदेखी विज्ञान विषय पढाई नभएको प्रति चासो छैन । गरिव र विपन्नका छोराछोरी पढने गाउँका सामुदायिक विद्यालयका विद्यार्थी माथि जनप्रतिनिधीले खेलवाड गरेको स्थानीयबासीले सरकारप्रति दुखेसो पोखे ।
विद्यालय भवन निर्माणका लागि पटक–पटक गाउँपालिका र प्रदेश सरकारसँग अनुरोध गर्दा सुनुवाई नभएको शिक्षक भिमबहादुर भण्डारीले जानकारी दिए । हामी पटक पटक वडा भेलाबाट विद्यालयको भवनको निर्माणको लागि सिफारिस गरेर प्रदेश सरकार र पालिकामा पठायौं । तर कतै बाट सुनुवाई भएन । दुर्गमका लागि गाउँमा सिंहदरबार आएको अनुभव नै भएन । स्थानीय सरकार बनेको ५ बर्ष वित्न लाग्दा पालिकाले भवनको बजेट विनियोजन गरेन उनले भने । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही यही गाउँपालिकाका स्थानिय बासिन्दा हुन् ।
२०३२ सालमा स्थापना भएको विद्यालयमा बालविकास देखी कक्षा ८ सम्म पढाई हुन्छ । १८६ जना अध्ययनरत विद्यालयमा शिक्षकको संख्या न्यून छ । विद्यालयमा ८ शिक्षक कार्यरत छन् । जस मध्ये हाल २ जना दरबन्दी ,३ जना गाउपालिका अनुदान,१ जना निजीस्रोत १ जना बालविकास केन्द्र गरि ७ जना शिक्षक शिक्षिकाले अध्यायपन गराई रहेको प्रधानाध्यापक महिनारायण चौधरीले बताए । २०५० सालदेखी चौधरी सोही स्कुलमा अध्यापन गराई रहेका छन् ।

तस्वीर : भक्तबहादुर शाही / राजधानी
विद्यालय स्थापना भएको झण्डै साढे चार दशक वितिसक्दा पनि सम्बन्धित निकाय कर्मचारी पुगेका छैनन् । पालिकाको नारामा व्यावसायिक शिक्षालाई जोड दिने भने पनि त्यो नारामै सिमित छ । शिक्षा क्षेत्र अहिले सम्म प्राथमिकता परेको छैन भने नेतृत्व इमान्दार वन्न नसक्दा विद्यालयको अवस्था जर्जर बनेको छ । राजनितिले गर्दा नै भ्रष्टाचार र आर्थिक अनियमितताको विरुद्ध लड्ने शिक्षक राजनिति दलका नेतृत्वका कार्यकर्ता बन्न थालेपछि गरिवका छोरा पढने सामुदायिक विद्यालय गाईगोठ जस्तै देखिन्छ ।
शिक्षाले नै असल खराब छुट्याउन सक्ने,विवेक प्रदान गर्न,सहि निर्णय लिन सक्षम बनाउने व्याक्तिको व्यवहारलाई अनुकरणीय र आर्दश बनाउने प्रतिभाको विकास गर्न काम गर्छ । शिक्षा प्रतिभारुपी बिजको लागि अनुकुल हावा पानी र उर्वर भुमि पनि मानिन्छ । दिगो विकास समाज रुपान्तरणको जिम्मेवारी नै शिक्षा क्षेत्रको काँधमा छ । तर त्यही शिक्षा अस्तव्यस्तले गर्दा कतातिर जान्छ भन्ने ठाटीकाँध गाउँपालिकाका –३ माझखर्कको कृष्ण आधारभुत सामुदायिक विद्यालयको अवस्थाले आम नागरिकलाई झस्काई दिएको छ ।
