कर्णाली नदीको दुषित पानी पिउँछन् आलिका बासिन्दा
दैलेख । पञ्चदेव विनायक नगरपालिका ५ का बासिन्दा कर्णाली नदीको दुषित पानी पिउन बाध्य छन् । गाउँमा शुद्ध पिउन पानीको मुहान र टयांकीलाई गत असारमा आएको पहिरोले पुरिदिएपछि कर्णाली नदीको दुषित पानी पिउन थालेका हुन् ।
गाउँ भन्दा तल कर्णाली नदी भएकोले विहान र बेलुकापख नदीबाट पानी ल्याउनेको लर्को लाग्ने गर्छ । यो आलि गाउँका बासिन्दाको रहर नभई बाध्यता हो । गाउँमा शुद्ध पिउने पानी नहुँदा आली गाउँका बासिन्दा पानीको पिडा भने नौलो होइन । पुर्खौदेखी कर्णाली नदीको दुषित पानी पिएर जीवन धानेका छन् । हिउँदमा होस वा बर्षातमा आलिका बासिन्दा नदीकै पानी पिउनुपर्ने बाध्यता छ ।

तस्वीर : भक्तबहादुर शाही / दैलेख
उसो त आलि गाउँमा शुद्ध पिउने पानीका खानेपानीका धारा पनि नबनेका होइनन् । नगरपालिकाको सहयोगमा तीन बर्ष अगाडी एउटा ह्यान्ड पम्प धारा निर्माण गरिएको थियो भने दुई बर्ष अगाडी गैरसरकारी संस्था सामाजिक सेवा केन्द्रले सोही बस्तीमा ५४ वटा घरका तीनवटा फिल्टर प्लान्ट जडान गरि ८ वटा धारा बनायो । घरमै शुद्ध पिउने पानीको धारा पाउँदा औधी रमाएका थिए । तर भने त्यो खुशी आलि गाउँका बासिन्दाका लागि लामो समय टिक्न सकेन ।
गत बर्ष बर्षातको समयमा कर्णाली नदीमा आएको बाढीले पानी शुद्धिकरण फिल्डर प्लान्ट भत्काईदिएको र बस्ती माथिको टयांकी पहिरोले पुरिदिएपछि पिउने पानी बन्द भयो । फेरी आलिका गाउँका बासिन्दा कर्णाली नदीको दुषित पानी पिउन थालेको ६५ बर्षिया दुर्गादेवी माझीले बताईन । उनले भनिन,हामी गरिबलाई कसले हेर्छ । ठुला नेता र कर्मचारी सुन्दर पानी खान्छन् । हामीले नदीको पानी खान्छौं,बर्षातले कपडाले छानेर खानुपर्ने बाध्यता छ ।
सामाजिक सेवा केन्द्र सोसेकले दुई बर्ष अघि २८ लाख ७३ हजार ६९६ लगानीमा खानेपानी सँगै लिफ्टिङ्ग प्रविधि मार्फत सिचाई आलि गाउँमा पु¥याईएको थियो । सिचाई सूविधा पुगेपछि स्थानीय कालापहाड जाने छोडेर तरकारी खेती गर्न थालेका थिए । पानी सँगै सिचाई समेत बन्द भएपछि गाउँका पुरुष पराई देश हानिएका छन् ।
नगरपालिकाले ह्याण्ड पम्प धारा निर्माण गरेपनि दिगो हुन सकेन । बालबालिकाले जथाभावी चलाउने गरेकोले छिटो विग्रने गरेको उनीहरुको भनार्ई छ । अब दिगो विकासको लागि स्थानीय सरकार पहिला समुदायलाई सम्झाई बुझाई गरेर मात्र खानेपानी बनाउँदा राम्रो हुन्छ । समुदायमा अपनत्वको भावना नजगाई गरिएका अधिकाँश दिगो हुन नसक्ने स्थानीयबासी ईन्द्रबहादुर माझीले बताए ।
एकघर एक धाराको बनाउने नीति ल्याए मात्र खानेपानी दिगो हुने जानकी कार्कीले बताईन । चार पाँच घरको एउटा धारो भए झै झगडा हुन थाल्यो । आफुले पानी भर्न कपडा धुन नपाईको बहानामा पायक पर्ने ठाउँमा पाइप काट्न थाले । एक बर्ष बनाएको योजना अर्को बर्ष हुदैन,उनले भनिन् ।
पहिरो खानेपानी टयांकी बगाएपछि पटक पटक स्थानीय सरकारले अनुरोध गर्दा आश्वासन मात्र दिने काम नगर्ने प्रेमबहादुर भुलले बताए ।
