स्थानीय तह निर्वाचन स् वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख २ मा उम्मेदवारी दर्ता गर्ने गरी स्थानीय चुनावको आन्तरिक कार्ययोजना बनाएको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता भने चैत ६ देखि खुलाउने तयारी छ । दल दर्ता सकिएपछि आचारसंहिता लागू हुनेछ । ‘यो सम्भावित खाका हो, फेरबदल हुन सक्छ,’ एक आयुक्तले भने ।
आयोगको प्रारम्भिक खाकाअनुसार वैशाख १४ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । निर्वाचनको पहिलो प्रक्रियाका रूपमा मतदाता नामावली सार्वजनिक गर्नुपर्छ ।
आयोगले मतदाताको विवरण तयार गरिसकेको छैन । २०७७ पुस ५ सम्म १८ वर्ष पूरा भएका मतदाता १ करोड ६२ लाख ४३ हजार १ सय १० जना थिए । यसमा महिला ८० लाख ३० हजार ९ सय ८४ र पुरुष ८२ लाख ११ हजार ९ सय ५४ र तेस्रो लिंगी १ सय ७२ जना थिए । त्यसयता पनि मतदाता थपिएका छन् । ‘अन्तिम मतदाता नामावली सार्वजनिक हुन कम्तीमा ३५ दिन लाग्न सक्छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ।