जीपको ठक्करबाट हुम्लामा छ वर्षीय बालकको मृत्यु
सिमकोट । बाजुरा जिल्लासँग सीमाना जोडिएको हुम्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको कवाडी बजारमा बोलेरो जीपले ठक्कर दिँदा एक जना बालकको घटनास्थलमै मृत्यु भएको छ ।
सदरमुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने कवाडी बजारको सडकमा खेल्दै गरेको बालकलाई बाजुराको धुला चौरतर्फ जादै गरेको बोलेरो जीपले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।
प्रहरी नायब उपरिक्षक हेरम्ब शर्माका अनुसार बुधवार बेलुका ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेलाबाट धुलाचौर हुँदै बाजुरातर्फ जाँदै गरेको बोलेरो जीपले ताँजाकोट गाउँपालिका– २ मैला गाउँका सुर्जविर लुवारको वर्ष ५ को छोरा मनिस लुवारलाई कवाडीमा खेल्दै गरेको बेला जीपको पछाडीको चक्काले ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको होे ।
घटना स्थलमा सञ्चार सम्पर्क गर्न कठिन छ । प्रहरीलाई ढिलोगरि प्राप्त खवर अनुसार क.प्र.०२००१ ब ००४५ नम्बरको बोलेरो जीपले बालकलाई ठक्कर दिँदा मृत्यु भएको हो ।
जीप चालक कालिकोट जिल्ला रास्कोट नगरपालिका– ४ स्थायी ठेगाना भएका २१ वर्षका चेतना शाही र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । चालकलाई जिप्रका हुम्लामा ल्याउदै गरिएको छ । कर्णाली करिडोरको हुम्लामा यातायात सञ्चालन आएपछि यो पहिलो मानवीय क्षेत भएको हो ।
