माया खोसिएकी मनसरा
दैलेख । दैलेख आठबिस नगरपालिका–७ कोटिलाकी ३० बर्षिय मनसरा कठायत एक विधुवा महिला हुन् । ९ बर्ष अघि मनसराको गाउँकै लालसिंह सँग मागी विवाह भयो । विहेपछि मनसराले दुई सन्तान जन्माईन एक छोरा एक छोरी । लालसिंहको मृत्यु हुँदा छोरी पुस्पा कठायतको जन्म भईसकेको थियो भने छोरा पुष्प गर्भमै थिए । पुस्प अहिले ५ बर्षका भए । दुई दाजु भाई सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत छन् । ७ बर्षिया पुस्पा कक्षा १ मा पढछन भने पुस्प नर्सरीमा अध्ययन गर्छन ।
मनसरा पनि छोरा पुस्प जस्तै गर्भमै टुहुरो बनेकी हुन् । उनी गर्भमै हुँदा बाबुको मृत्यु भयो । एक बर्षपछि आमाले दोस्रो विहे गरेर पराई घर गईन । घाँस काट्न जाँदा रुखबाट खसेर आमाको मृत्यु भयो । हजुर बुबाको आश्रयमा उनी हुर्किइन । हजुर बुवाले नै मनसराको विहे गरिदिए ।
विहेवारी मनसराको जेठाजुको घरमै भएको हो । विहेपछि घर बनाउने छोराछोरीलाई उच्च शिक्षा हासिल गर्ने मनसराको सोच थियो । तर विडम्बना त्यो पुरा हुन सकेन । विहे भएको चार बर्षमै श्रीमानको मृत्यु हुँदा मनसराका घर बनाउने सपना चकनाचुर भए । अहिले पनि मनसरा जेठाजुको घरको एक कोठामा दुई सन्तान सहित बसोबास गरिरहेकी छिन् ।
एकातिर मनसरालाई आमा बाबु र श्रीमानको मृत्युले पोलिरहेको हुन्छ भने अर्कोतिर छोराछोरीले बाबुको खोजी गर्न थालेपछि झनै मन दुख्ने गरेको छ । गाउँ र छरछिमेकका बालबच्चा बाबु बोलाएको सुन्दा उनीले हाम्रा बाबा कहाँ जानु भएको छ कहिले आउनु हुन्छ भनेर सोध्छन् । त्यतिवेला मन भक्कानिन्छ । छोराछोरीलाई भोली आउँछन् भनेर टार्छु । यो भनिरहँदा मनसराका आँशा एकछिन पनि ओभाना रहेन,आँखामा आँशु छचल्किरहे ।

मनसराका श्रीमान एचआईभी संक्रमण जिल्ला अस्पतालमा दैलेखमा मृत्यु भयो । उनी पनि संक्रमित छन् । दुई बालकको रिर्पोट भने नेगेटिभ छ । एनआरटी औषधीको प्रयोग गर्दै आफ्ना ति नाबालक सन्ततीहरुका लागी संघर्र्षरत छन ।
राज्यले एकल महिलाहरुका लागी प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता बाहेक दैनिकी गुजार्न अरु कुनै श्रोत छैन् । आम्दानीको श्रोतका रुपमा दुईवटा बाख्रा पालेकि छिन् । एचआईभीको संक्रमण नभएका तिन दुई नाबालकहरुको लालन पालन र घरखर्च चलाउन समेत उनिलाई हम्मे हम्मे परेको उनकी जेठान दिदि पर्ने जुवारा कठायत बताउछिन् ।
पहिले भारतको बम्वैै बसेका उनका श्रीमानबाट उनलाई एचआईभी संक्रमण भएको हो । संक्रमित भएपनी श्रीमान साथमा नहुदाँ उनि घर न घाटको जस्तो जिवन गुजार्न बाध्य छिन् । केही दिन अघि स्टोरी अफ नेपालका जय पौडेलको सहयोगार्थ २० हजार रुपैया पाप्त गरिन् । यो नै उनको जिवन गुजार्न पाईएको पहिलो सहयोग हो । मनसराले सहयोग पाएपछि धन्यवाद त दिइन । सहयोगीको सोधीखोजी गरिन । भनिन,उहाँ त मेरो भगवान हो धन्यवाद सुनुवाई दिनुहोला । उहाँको घर त ठुलो होला भनेर प्रश्न समेत गर्न भ्याइन । अहिले साना साना समस्या टार्न पनी उनले छिमेकी सहयोग लिनु परिरहेको हुन्छ ।
आठबिस नगरपालिकामा मात्र ९६ जना संक्रमितले एनआरटी औषधी सेवन गरिरहेका छन् । यो प्रतिनिधी घटना पात्र मात्र हो । देशभरका बिभिन्न ठाउँमा यसरी जिवन गुजारीरहेका महिलाहरु नगन्य मात्रामा छन् । यस्ता परिवार र पात्रहरुको दैनिकी बदल्न स्थानीय सरकार र सम्बन्धित निकाय उत्तिकै जिम्मेवार भएमात्र नागरिकहरुले सेवा प्रत्याभुत भएको महशुश गर्नेछन् ।
।
