बल्ल पुरा भयो,चुप्राबासीको चाहाना
दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ चुप्रा बजार सडक सन्जाल नजोडिनु अघि दैलेख र साविकको कर्णालीको लागि मुख्य व्यापार केन्द्र मानिन्थ्यो । तलतिर लोहोरे र छामघाट खोला, माथितिर अग्ला डाडाकाँडा बिच भुभाग रहेको सुन्दर बजार सुर्खेत–दैलेख सडकखण्डको प्रवेशद्धार हो । तलतिर दुईवटा खोला भएपनि सुन्दरताले सजिएको बजारले शुद्ध पिउने पानी पिउन पाएका थिएनन् । १५ देखी २४ घरधुरीका लागि एउटै धाराको पानी पिउँथे भने कपडा धुने शौचालय सरसफाईको लागि लोहोरे खोलाको पानी बोक्नुपर्ने बाध्यता बाहेक अर्को विकल्प थिएन । पिउने पानी लागि पालो कुरेर बस्नुपर्ने उस्तै थियो । पानी भर्नको लागि झ झगडा पनि हुन्थ्यो । अब भने चुप्राबासीले पानी नपाउँदाका पिडा खुशीमा बदलिएको छ । धारा निर्माण भएपछि घर घरमै शुद्ध पिउने पानी पाउँदा चुप्राबासी हर्षित छन् ।
पानीको पिडाले पिरोलिएका डुङ्गेश्वर गाउँपालिका–१ चुप्रा बजारका होटल सन्चालक दिलबहादुर रासकोटी मगरको दैनिकी खानेपानीकै जोहो गर्नमा जान्थ्यो । होटल सञ्चालनका लागि लोहोरे खोलामा पानी समेत ल्याउँथे । १५ घरधुरीका लागि एउटै सामुहिक धारा थियो । पिउने पानीका लागि समाजमा झगडा समेत हुन्थ्यो । घर आँगनमा धारा निर्माण भएपछि समयको बचत हुनुको साथै छरछिमेकी सँग झै झगडा नहुने गरेको गंगा थापाले बताईन । उनले भनिन,“हामीले बचत भएको समयमा तरकारी लगाएर गराहराभरा बनाएको छौं,सरसफाईको काम पहिलेको भन्दा सप्रिदै गएको छ ।
थापामा मात्र होइन चुप्रामा होटल व्यवसाय गरेका होटल सञ्चालक दिलबहादुर सारु रासकोटी मगरको भनाई उस्तै छ । घर आँगनमा धारा निर्माण भएपछि लोहोरे र छामघाट खोलाबाट सरसफाईलाई पिठ्युमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको बताउँछ । पानी अभावले होटलका शौचालय फोहोर देखिथे । घरमा पानी आएपछि घर आँगन शौचालय र बचत पानीलाई तरकारी खेतीमा प्रयोग गर्दै आएका छौं उनले भने ।

कुल २ सय ९४ घरधुरीमा धारा जडापछि खानेपानीबाट १ हजार ७ सय जना स्थानीयबासी लाभान्वित भएका छन् । प्रहरी चौकी, स्वास्थ्य चौकी, विद्यालय र वडा कार्यालयमा समेत धारा जडान गरिएको छ । । पानी शुद्धिकरणका लागि मेसिन समेत जडान गरिएको छ् । ‘विहान ७ बजदेखि साँझ ७ बजेसम्म पानी वितरण तालिका निर्धारण गरिएको छ । योजनाबाट ३ जनाले रोजगारी पाएका मुखरिया खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर खत्रीले बताए ।
खानेपानीको लागि ६ किलोमिटर टाढाबाट पाईप लाइन मार्फत घरघरमा धारा जडानपछि चुप्राबासीले विगतका तीता अनुभव भुल्न थालेका छन् । गाउपालिका, हेल्भटास,जनश्रमदान गरि कुल लागत १ करोड ५६ लाख ५४ हजार लगानीमा निर्माण गरिएको खानेपानी योजनालाई दिगो र भरपर्दो बनाउनका लागि स्थानीय सरकार,उपभोक्ता र सरोकार वाला चासो दिएको वडाअध्यक्ष लोगबहादुर डाँगीले बताए । उपभोक्ता समितिले योजना मर्मतका लागि केही प्रतिशत रकम समेत उठाएको छ । यो मर्मत सम्भार कोषले योजना दिगो बनाउन थालिएको कदम राम्रो हो,उनले थपे ।
