दैलेखमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक
दैलेख । निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो ।
आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको हो ।
आयोगले सार्वजनिक गरेको सूचना अनुसार दैलेखको जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश डण्डपाणी लामिछानेलाई तोकेको छ ।
यस्तै आठबीस नगरपालिकामा उपसचिव ओमबहादुर अधिकारीलाई निर्वाचन अधिकृत तोकेको छ । दुल्लुमा उपसचिव यज्ञ पुरी र चामुण्डाविन्द्रासैनी नगरपालिकामा उपसचिव सोमनाथ गौतम निर्वाचन अधिकृत तोकिएका छन् ।
त्यसैगरी गुराँसमा उपसचिव बन्दनाकुमारी केसी, ठाटीकाँध गाउँपालिकामा उपसचिव सागरमणी पाठक, डुङ्गेश्वर गाउँपालिकामा उपन्यायाधिवक्ता विष्णु प्रसाद पौडेल, नौमूले गाउँपालिकामा जिल्ला न्यायाधिवक्ता हरि प्रसाद घिमिरे निर्वाचन अधिकृत तोकिएका छन् ।
यस्तै निर्वाचन आयोगले भगवतीमाई गाउँपालिकामा दैलेख जिल्ला अदालतका स्रेस्तेदार इन्द्रबहादुर कार्की, भैरवी गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत चन्द्रदेव भारती र महाबु गाउँपालिकामा उपसचिव वीरेन्द्रबहादुर केसीलाई निर्वाचन अधिकृत तोकेको छ ।
