भरतपुर महानगरसहित ४ उपमहानगरपालिकामा माओवादीको दाबी
नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धनभित्र १ महानगरपालिका र ४ वटा उपमहानगरपालिकाका लागि दाबी गरेको छ।
आज बसेको सत्तारुढ गठबन्धनका स्थानीय तह निर्वाचन तयारी र अनुगमन संयन्त्रको बैठकमा माओवादीले भरतपुर महानगरपालिका सहित अन्य ४ वटा उपमहानगरपालिकामा दाबी गरेको हो।
माओवादीले चितवनको भरतपुर महानगरपालिकामा आफ्नो नेतृत्व हुनुपर्ने भन्दै दाबी राखेको छ। भरतपुरको नेतृत्वमा सहमति हुन नसक्दा सत्तारुढ गठबन्धनभित्र तिव्र विवाद चुलिएको छ।
बैठकमा सहभागी एक नेताका अनुसार घोराही, हेटौंडा, धरान र जितपुर सिमरा उपमहानगरपालिकाका लागि माओवादीले आफ्नो दाबी प्रस्तुत गरेको हो । संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।
संयन्त्रको बैठक बस्नुअघि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमै बैठक बसेका थिए।
माओवादी नेता वर्षमान पुनले भने आजको बैठकमा दलका नेताहरुले आ–आफ्नो दाबी प्रस्तुत गर्ने र रिपोर्टिङ लगायत गरेका थिए।
