सिंहदरबारले नदेखेको सार्की परिवारको पिडा
दैलेख (रावतकोट) । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्गबाट झण्डैं दुई सय मिटर तल मेहलुकुना गाउँ । वरिपरि सिलेटको छानाले छाएका घर । गाउँको पुछारमा एउटा खरको छाना भएको सानो घर । घरको आँगन अगाडी धुजा धुजा भएको त्रिपाल । त्यही त्रिपालमुनि रात विताउँदै आएका छन् गौरे सार्कीको तीनजनाको परिवार । यो दृश्य हो । दैलेख भैरवी गाउँपालिका–१ रावतकोटको मेहलटाकुरा गाउँका सार्की परिवारको ।
उमेर झण्डै ८० पुग्न लागेका गौरे सार्कीको दिनचार्य जुत्ता सिलाएर वित्ने गर्छन । बुढेसकालमा आराम गर्नु बेला पनि सकि नसकि जुत्ता सिलाएर तीन जना परिवार पाल्दै आएका छन् । तीनै गौरे सार्कीको एक बर्ष अगाडी गाउँपालिकाले दिएको त्रिपाललाई हावाहुरि च्याति दिएपछि रात कसरी गुजार्ने भन्ने चिन्तामा छन् । पटक –पटक सार्की परिवारले गाउँपालिकामा निवेदन दिए पनि पालिकाले सुनुवाईन गरेन । संघियता सँगै गाउँमा सिंहदरबार आएपनि हुने खाने पहुँचवाला सेवा पाउँछन् ,गरिवी विपन्न बर्गका लागि भने व्यवस्था बदलिए पनि अवस्था उस्तै छ ।
सार्कीका तीनजना परिवारलाई हातमुख जोर्न पनि उस्तै समस्या छ । सिस्नुको साहारामा जीवन गुजारी रहेको ६५ बर्षिया बुदी सार्कीले बताईन । उनले भनिन,मेरो छोरा उज्जवलको मलाई जन्जाल भयो । छोराका लागि भएपनि कस्टकर जीवन बाँचेको छु । बुधीका छोरा उज्जवल सार्की पन्चदेवल माध्यामिक विद्यालय कक्षा ६ मा अध्ययनरत छन् । हामीलाई खान र बस्नको लागि उस्तै समस्या छ । बस्न बास र खाने गाँस छैन । बाबाले जुत्ता सिलाएर हामीलाई पाल्नु भएको छ । मेरो पढने इच्छा अधुरै हुन्छकी भन्ने चिन्ता लागेको छ । कापी कलम र स्कुल पोशाको उज्जवललाई उस्तै समस्या छ ।
सार्की परिवारको जग्गा जमिन पनि छ । उनले बर्षेनी तिरो तिरे पनि उपभोग भने गर्न पाएका छैनन् । गौरे सार्कीको भाउजु नाङचे सार्कीले गाउँकै थापालाई जग्गा बेचिदिइन । जब गौरे घरमा आए जमिन बेचेको थाहा पाए उनले जिल्ला अदालतमा अंश दाबीको मुद्दा पनि हाले । अदालतले विक्री भएको जग्गा बदर गरि गौरेका नाममा फैसला ग¥यो । तर फैसला आफ्नो नाममा भएपनि भाउजुले बेचेको जग्गा पैसा फिर्ता गर्न नसकिएपछि सार्की परिवार खुल्ला आकाश मुनि जीवन गुजारी रहेका छन् । जग्गाको उपभोग गर्न नपाएपनि तिरो भने सार्की परिवारले तिरिरहेका छन् । सार्की परिवारलाई आजभोली लाउन र खान पनि उस्तै समस्या रहेको छ ।
पालिका सरकारले सार्की परिवारले घर बनाईने आश्वासन दिए पनि सुनुवाई भएको छैन । गाउँपालिकामा चार पटक निवेदन दिएपनि सुनुवाई नभएको उनीहरु बताउँछन् । हामीले प्रेमबहादुर बुढा पालिका अध्यक्ष हुने बेला निवदेन दिएका हौं उहाँ गाउँपालिकाबाट हटि सक्नु भएको छ । हाम्रो समस्या उस्तै छ । नयाँ गाउँपालिका अध्यक्ष आउनु भएको छ अब के गर्नु हुन्छ उज्जवले सार्कीले दुखेसो पोखे ।
संघियता सँगै गाउँमै सिंहदरबार पनि त्यसको अनुभुति गरिव परिवारले लिन पाएका छैनन् । गाउँका सिंहदरबारमा हुने खाने पहुँच वालाको मात्र सुनुवाई हुने गरेको छ । गौरे सार्कीका जस्ता विपन्न परिवारमा स्थानीय सरकारको ध्यान दिएर रोजगारका लागि आवश्यक पहल गरिदिएमा सार्की परिवार जस्तै विपन्न परिवारका लागि जीवनयापन गर्न सजिलो हुने स्थानीयबासी बताउँछन् ।