माओवादीबाट निर्वाचित सांसद धर्मराज,एमालेको प्रदेश सचिव पदमा
सुर्खेत । दैलेख निर्वाचन क्षेत्र नं– १ (क) बाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य हुन् धर्मराज रेग्मी ।
सत्ता पक्षकै अझ माओवादी केन्द्रबाटै निर्वाचित भएपनि उनले प्रदेश सरकारको पक्षमा कहिलै आवाज उठाएनन् । उल्टै प्रदेश सरकारको मुख्यमन्त्रीको विरुद्धमा लागिपरे ।
प्रदेश सरकारले गरेका हरेक गतिविधिमा विरोध जनाउने काम गर्थे । आलोचना मात्रै गर्न थालेपछि प्रश्न उठ्ने गरेको थियो सत्ता पक्षकै सांसदले पनि सरकारकै कति आलोचना गरेको भनेर । तिनै धर्मराज गएको असोजमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अविश्वासको प्रस्ताव दर्ता गराउने ‘डिजाइनरको भुमिकामा रहेका ओली पक्षका सांसद यामलाल कँडेलसँग लिप्त भए । कँडेलले शाही विरुद्ध उठाएको अविश्वास पत्रमा रेग्मीले पनि समर्थन जनाए । माओवादी केन्द्रकै नेताले माओवादी केन्द्रबाट बनेका मुख्यमन्त्री विरुद्ध हस्ताक्षर गरे । उनी मात्र हैन् सुर्खेतको क्षेत्र नम्बर –१ (क) बाट निर्वाचित ठम्बर विष्ट पनि यो कार्यमा सहभागी बने ।कारणवस त्यो बेला मुख्यमन्त्री शाही डगमगाएनन् । उल्टै केही माधव पक्षका सांसदहरुलाई मुठ्ठीमा लिएर कँडेलको योजना तुहाईदिए । त्यसपछि पनि मुख्यमन्त्रीको विरुद्धमा पर्दा पछाडी रहेर लागिपरेका दुबै जना प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा थपेका ५५६ जना केन्द्रीय सदस्यभित्र समावेस भए ।
ओली समुहको केन्द्रिय सदस्य पाएका रेग्मी झन उत्साहित बने । रेग्मी र विष्ट ओली पक्षीय विभिन्न कार्यक्रम, गोष्ठिमा सरिक हुने काम गरे । गृहमन्त्री रामबहादुर थापा बादल सुर्खेत आउँदा पनि सुर्खेत विमानस्थलमा स्वागत गर्न रेग्मी र विष्टनै गएका थिए ।
यतिमात्रै हैन् एमाले पक्षले गरेका हरेक गतिविधिहरुमा उनीहरुको सक्रिएता देखियो । तर, गएको आइतबार सर्वोच्चले गरेको निर्णयले भने दुबै जनालाई वार न पारको स्थिति पारिदियो । घर न घाटनको बनाईदिएपछि कुन मुख लिएर माओवादी केन्द्रमा जालान भन्ने जिज्ञासा उठ्न थालेका थिए । राजनीतिका चुतर खेलाडी सांसद रेग्मीलाई शुक्रबार एमालेको प्रदेश सचिव तोकिएको छ ।
शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले रेग्मीलाई प्रदेश सचिवको जिम्मेवारी दिएको हो । बैठकले प्रदेश कमिटी इन्चार्जमा नेता यमलाल कँडेललाई नै दिएको छ भने सह इन्चार्जमा गोरख बोगटी, प्रदेश अध्यक्षमा गुलाबजंग शाहलाई मनोनित गरेको छ ।
एमाले र माओवादी मिलेर बनेको नेकपामा कँडेल सह–इन्चार्ज थिए भने बोगटी प्रदेश अध्यक्ष थिए । अब कर्णाली प्रदेशसभामा माओवादीका १२ सांसद हुनेछन् । एकजना माओवादी पक्षीय नेताले भने ,‘ उहाँ सांसद रेग्मी त राजनीतिमा बडो खेल खेल्नुहुने रहेछ ।’ उहाँलाई अहिले सम्म यहाँ सम्म पु¥याउने पार्टीलाई त लात्तले हिर्काउनुभयो ।’
