अझै भेटिनन् रजनी
दैलेख । सात दिन अघि आमा सँगै कर्णाली नदीमा हेलिएकी आठविस नगरपालिका –३ निमायलकी ७ बर्षिया रजनी बडुवालको अझै सम्म शव भेटिएको छैन । तर रजनी सँगै नदीमा हेलिएकी आमा सुकि,सरिता,कल्पना र ललितको गएको बुधबार कर्णाली नदीको तिरमा संयुक्त दाहसंस्कार गरिकिएको छ ।
गोताखोरको टोली समेत आएर खोजतलास गर्दा शब नभेटिएको वडानं–३ का वडाअध्यक्ष प्रयागबहादुर शाहीले बताए । उनले भने,शुक्रवार दिनभर गोताखोर टोली शब खोज्यो । तर भेटाउन सकेन । सात दिनसम्म त माछाले पनि शब खाईसके होलान । अब शब कतै नदी किनारामा देखिन्छ भनेर रेखदेख मात्र गरिरहेका छन् ।
सुकीले आफ्ना चार छोराछोरीसहित ७ दिन अघि कर्णाली नदीमा हामफालेकी थिइन् । सोमबार छोरी कल्पना र सरीता तथा मंगलबार सुकी र छोरा ललितको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४, बेलखेतस्थित कर्णाली नदीको तिरमा भेटिएको थियो । कान्छी छोरी रजनीको शब ७ दिन वितिसक्दा भेटिएको छैन ।
चार छोराछोरी सहित कर्णाली नदीमा अस्ताएका बडुवाल परिवारको बारे गाउँघरका स्थानीयबासि बोल्न डराउँछन् । केही बोलेपछि प्रहरीले सोधपुछ गरेर झमेला गर्छ भनेर सुकीबारे सोधखोज गर्दा चुपचाप हुन्छन् । गाउँघरमा पछिल्लो समय वडुवाल परिवारको मृत्युले गाउँमा डर त्रास छ । मृत्यु बारे विभिन्न चियापसल टिकाटिप्पणी हुने गरेको छ ।
आठविस नगरपालिका ३ कै एक स्थानीयबासिन्दाले भने,सुकीले आत्महत्या गरिन भनेर मलाई विश्वास छैन । आवेगले नै आत्महत्या गरेकी हुन भने १ घण्टाको पैदल हिडेर आएर रिस कम हुनुपर्ने हो । १४ बर्षिया सरिता र कल्पनाले कसरी मर्नेमा सहमति भईन । १० बर्षिया बालक ललित दिदी नदीमा फालिसकेपछि विद्रोह गर्नुपर्ने हो । तर त्यो देखिएन । चाउचाउ समेत केटाकेटीले खान पाएका छैनन् । खाँदा खाँदै नदीमा किन हाम फाले । मर्ने संयुक्त भावना पैदा आउनु मृत्यु रहस्यमय बनेको उनको भनाई छ ।
गाउँका अधिकाँश स्थानीयबासी भने,सुकी आत्महत्या गर्नुको मुख्य कारण मदिरा र घरेलु हिंसा भएको बताउँछन् । श्रीमानले मदिरा सेवन गरेपछि श्रीमति सहित बालबालिकालाई कुटपिट गर्न हुँदा आफुले मर्ने योजना बनाएपछि बालबालिकालाई चाउचाउ खुवाउदै फकाउँदै हात बाँधेको पहिला छोरीलाई धकलेपछि छोरा सहित आफुले हाम फालेको हुनसक्ने केही स्थानीयबासीको अनुमान छ ।
तर सोही ठाउँकी अर्की एक महिलाले भनिन्,सन्तानलाई पहिला मारेर आमा पछि मर्ने सक्दैन,बरु बचाउन खोज्छन् । यसको बारे अनुसन्धान हुनुपर्छ,उनले भनिन् । सुकीको मृत्युपछि शोकमग्न बनेको निमायल बस्ती उजाड जस्तै देखिन्छ । उनको घरका सबै कोठा ताला लगाएर बन्द गरिएका छन् । घरमा फालिका पशुचौपाया भोकभोकै छन् ।
मदिराले गर्दा छोराछोरी सहित सुकीले मृत्युको बाटो रोजेको कमल सिजापतिले बताए । उनले भने, मदिराकै कारण दिनहुँ हुने झगडाले गर्दा नै सुकीले मृत्युको बाटो रोजेकी हुन् । आफु मरीसकेपछि छोराछोरीले दुख पाउने चिन्ताले आमाले आफु सहित छोराछोरीलाई समेत हाँत बाँधेर हाम फालेकी हुन सक्छ ,उनले भने ।
घटनाको तथ्यमा पुग्न गाह्रो छ : प्रहरी प्रमुख
तर जिल्ला प्रहरी कार्याले दैलेखका प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठ भने,घटना भएको दिन श्रीमानले कुटपिट नगरेको घरमा पैसा सम्बिन्धि विवाद भएको अनुसन्धानबाट खुलेको बताए । जाँड रक्सी खाएर कुटपिट गरेको सही तर्क होइन । घटनामा संलग्न भएका सबै व्याक्तिको मृत्यु भईसकेकाले तथ्यमा पुग्न गाह्रो छ । एकजना बाँचेको भए सबै खुल्थ्यो । घटनाको प्रबृति हेर्दा आमा नै मुख्य योजनाकार भएर ललाईफकाई गरेर संयुक्त आत्महत्या भएको देखिन्छ । मृतकले डोको,सडकमा छोडेको,नदी किनारामा चप्पल भेटिएको र सरिता र कल्पनामा डोकोमा प्रयोग गरिएको डोरीले बाँधिएकोले भेटिनुले घटना स्वयं आफैले गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जघन्य अपराधिक गरेर घटना घटेको प्रमाण भेटिएको छैन । निमायलबाट २ घण्टा हिडेर मात्र नदीमा पुगिने हुनाले घटना १२ बजे घटेको हुनसक्ने अनुमान गरिएको छ ।
घटना घटेको स्थलदेखी गोताखोर टोलीले ४४ किलोमिटर तल्लोडुङ्गेश्वर सम्म खोजतालस गर्दा लाश भेटिएको छैन । गोताखोर टोलीले आमा सुकीको शब भएको ठाउँ देखी तल्लोडुङ्गेश्वर सम्म ¥याप्टिङ प्रयोग गरि शबको खोजी गरेको दैलेखका प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।
