सोसक नेपाल द्वारा ठाँटिकाँधमा विद्यालय व्यवस्थापन सम्बन्धि तालिम प्रदान ।
दैलेख । समाज रुपान्तरणको क्षेत्रमा काम गरिरहेको सामाजिक सेवा केन्द्र सोसक नेपाल द्धारा दैलेखको ठाँटिकाँध गाउँपालिका भित्रका विभिन्न विद्यालयका शिक्षकहरुलाई विद्यालय व्यवस्थापन सम्बन्धि दुइदिने तालिम प्रदान गरेको छ ।
दुर्गमका विद्यालयहरु आवश्यक भौतिक स्रोतसाधनको अभावमा जिर्ण हुनुका साथै गुणस्तरिय शिक्षा प्रदान गर्न असमर्थ भइरहेको अवस्थामा ग्रामिणक्षेत्रमा प्रयाप्त स्रोत साधन लाई व्यवस्थापन गर्दै विद्यार्थीहरुलाई चाहेजस्तो र सकेसम्मको शिक्षा प्रदान गर्न सकिने उद्धेश्यका साथ तालिम प्रदान गरिएको शोसेक नेपाल ठाँटिकाँध शाखाले जनाएको छ ।
ठाँटिकाँध गाउँपालिकाका भित्रका ६ वटा वडाका हरेक विद्यालयका शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई उक्त तालिम प्रदान गरिएको हो । जस अन्तरगत हरेक २ वटा वडाका विद्यालयलाई दुई दिनका दरले ६ दिन तालिम प्रदान गरिएको छ ।
तालिममा सहभागि शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले तालिम पश्चात एकातिर जिम्मेवारी महशुस भएको छ भने अर्कोतिर उपलव्ध आवश्यक स्रोत साधनबाटै वालवालिकाहरुलाई चाहेजस्तो शिक्षा प्रदान गर्न सकिने संभावनालाई पहिचान गरेको बताएका छन ।
तालिम प्रदानको अवसरमा सामाजिक सेवा केन्द्र सोसक ठाँटिकाँध शाखा प्रमुख जिवराज रेग्मीले ठाँटिकाँध गाउँपालिका भित्रका सबै विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई कसरी विद्यालय र कक्षाकोठा व्यवस्थापन गर्ने भन्नेबारे तालिम प्रदान गरिएको जसबाट उनिहरुलाई जिम्मेवारी महशुस हुनुका साथै क्षमता वृद्धि समेत भएको बताउनुभयो ।
यसका साथै तालिममा सहभागिम विद्यालयहरुलाई विभिन्न शैक्षिक सामाग्रीहरु समेत प्रदान गरिएको छ भने केहि दिनभित्रै वालवालिकाहरुलाई कार्पेटमाथी बसेर अध्ययन गर्न सहजताको लागी राउण्ड टेवल समेत प्रदान गर्न लागिएको बताउनुभयो ।
