‘समाज परिवर्तनको जिम्मेवारी युवाको काँधमा’
सुर्खेत । समाज परिवर्तनको जिम्मेवारी अब युवाको काँथमा रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । शुक्रबार नगर युवा संजाल वीरेन्द्रनगरले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको बिशेष कार्यक्रममा अब समाज परिवर्तनमा युवाहरु अग्रसर हुनुपर्ने बताएका हुन् ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले समाजमा रहेका नकारात्मक कुराहरुको अन्त्य गरी सकारात्मक परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले युवाहरु अब श्रम केन्द्रित हुनुपर्नेमा जोड दिए । समाजमा अझै पनि श्रमप्रति विभेद रहेको उल्लेख गर्दै अब युवाहरुले यस्तो विभेदहरुलाई हटाउनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय पुर्व राजिष्टार डा. महेन्द्र कुमार मल्लले समाज परिवर्तनको जिम्मेवारी अब युवामै रहेको बताए । उनले नेपालका हरेक परिवर्तनका आन्दोलनमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै देशको व्यवस्था परिवर्तन भए पनि अब अवस्था परिवर्तन गर्न युवाहरुको ध्यान जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा राजनीतिज्ञ गेहेन्द्र प्रसाद दाहालले समाज परिवर्तनको तागत युवामा रहेको भन्दै युवाहरुलाई सक्षम, नेतृत्व विकासका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराए । उनले युवाहरुको बेरोजगारलगतयका समस्याहरु बढिरहेको र विदेश जाने क्रम बढ्दो रहेको भन्दै यसलाई रोक्न राज्यले अब सोच्नुपर्ने बेला आएको बताए ।
युवा उद्यमी हिमा उपाध्यायले युवाहरु अब उद्यमतिर लाग्नुपर्ने सुझाव दिए । उनले देशको विकास र समृद्धिमा युवाहरुको महत्व रहेको भन्दै युवाहरुले आफै पनि अग्रसर भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
यस्तै कार्यक्रममा राष्ट्रिय युवा परिषद् सुर्खेतका अध्यक्ष निरज भट्टराईले समाज परविर्तनका मुल खम्बा युवा भएको समाज परिवर्तनमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताए । अबको प्रमुख आवश्यकता भनेको नेपाली राजनीतिमा युवा वर्गको प्रतिनिधित्व हुनु नै रहेको भन्दै उहाँले युवाहरूलाई समृद्ध नेपाल निर्माणको यात्रा अघि आग्रह गरे ।
उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कंडेलले अब युवाहरूले देशको समृद्धिका लागि राजनीतिक नेतृत्व लिनुपर्ने बेला आएको बताए । जब शिक्षित, उद्यमी, नेतृत्व गर्न सक्ने सक्षम युवाहरू राजनितीमा आउँनुपर्ने उनको भनाई छ । उनले अब कर्णालीका युवाहरु उद्यमी बन्नुपर्ने र निर्यातमुखी व्यापारमा जोड दिए ।
युवा उद्यमी राजेन्द्र विष्टले देशको समृद्धीका लागि अब युवाहरुले नेतृत्व गर्नुपर्ने बताए । उनले विश्वमा अविकसित देशहरू विकसित बन्दै गइरहेको अवस्थामा नेपालको अवस्था उस्तै रहेकोले अब युवाहरु देशको समृद्धिका लागि अग्रसर हुनुपर्ने जोड दिए । कर्णालीको जडिबुटी, कृषि, जलस्रोतलगायतका क्षेत्रमा सम्भावना रहेकोले अब युवाहरुले यसको अध्ययन गरी विकास र समृद्धिको बाटोमा लाग्नुपर्ने उनले सुझाव दिए ।
