कर्णालीमा १२ निर्वाचन क्षेत्रबाट ७४ जनाको उम्मेदवारी
सुर्खेत । आसन्न मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निवार्चनमा कर्णाली प्रदेशमा ७४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगले दाबी विरोधपछि बुधवार अन्तिम नामावली प्रकाशन गरेको छ। जस अनुसार कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रबाट ७४ जनाले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
सल्यानबाट २ स्वतन्त्रसहित ९ जना रहेका छन् । यस्तै डोल्पामा एक स्वतन्त्रसहित ५ जना प्रतिनिधिसभा सदस्यको लागि निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
त्यसैगरी, मुगुमा २ स्वतन्त्रसहित ५ जना, एक स्वतन्त्रसहित ५ जना, कालिकोटमा २ स्वतन्त्रसहित ७ जना, हुम्लामा तीन जना निर्वाचनमा उत्रिएका छन् ।
जाजरकोटमा एक स्वतन्त्रसहित ६ जना, दैलेखमा २ स्वतन्त्रसहित १३ जना, सुर्खेतमा १७ जना र रुकुमपश्चिमा २ स्वतन्त्रसहित ६ जना प्रतिनिधिसभा निर्वाचनको मैदानमा उत्रिएका छन् ।
कर्णाली प्रदेशको दैलेख र सुर्खेतमा २/२ निर्वाचन क्षेत्र छन् भने अन्य ८ जिल्लामा एक/एक निर्वाचन क्षेत्र रहेका छन् । सल्यान, जाजरकोट, दैलेख र सुर्खेतमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो उम्मेदवार उठाएको छ ।
यस्तै, प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशका अनुसार कर्णाली प्रदेशमा कुल मतदाता नौ लाख आठ हजार चार सय ३३ रहेका छन् । जसमध्ये पूरुषको संख्या चार लाख ५९ हजार चार सय एक रहेको छ भने महिलाको संख्या चार लाख ४९ हजार ३० रहेको छ । अन्य मतदाताको संख्या २ रहेको छ ।
