तिहारलाई फूल पाउन मुस्किल

वीरेन्द्रनगर । गुर्भाकोट नगरपालिका–४ भर्लेनीका हिराबहादुर घर्तीको बारीभरि अहिले ढकमक्क सयपत्री फूल फुलेका छन् । तिहार नजिकिएसँगै उनलाई अहिले फूल बेच्न भ्याइनभ्याइ छ ।
कर्णाली ड्रागन फ्रुटका सञ्चालकसमेत रहेका घर्तीले दुई कट्ठामा पाँच सय सयपत्रीका बिरुवा रोपे पनि उनलाई बजारको माग नै पूरा गर्न मुस्किल भएको छ ।
घर्तीको फार्मबाट विभिन्न संघसंस्थाका कार्यक्रम, गाउँघर तथा बजार क्षेत्रमा हुने पूजाआजा, विवाह व्रतबन्धलगायत विभिन्न समारोहका लागि फूल बिक्री हुने गरेको छ । आफूले लगाएको फूल सबै बुकिङ भइसकेकाले अन्यत्र जिल्लाका फार्मबाट समेत मगाएर बिक्री गर्ने योजनामा उनी छन् । उनले प्रतिकिलो सात सय रुपैयाँमा फूल बिक्री गरिरहेको बताए ।
सुर्खेतमा पछिल्लो समय व्यावसायिक फूल खेती फस्टाउँदै गएको छ । १० वर्षदेखि वीरेन्द्रनगरमा फूलको व्यवसाय गर्दै आएको झरना नर्सरीले यस वर्ष पनि चार कट्ठा जग्गामा सयपत्री फूल लगाएको छ । नर्सरीकी सञ्चालक झरना थापाले बजारको मागअनुसार फूल पुर्याउन नसकिएको बताइन् । नर्सरीले यो वर्ष झन्डै ५० हजार फूलका बेर्ना बिक्री गरेको छ । वीरेन्द्रनगर नगरपालिका–३ स्थित खुसी कृषि तथा पशुपन्छी फार्मले पनि यस वर्ष चार कट्ठा जग्गामा नौ सय बिरुवा सयपत्रीका फूल उत्पादन गरेको छ । पछिल्लो समय विवाह, महोत्सव तथा समारोहमा फूलको माग बढिरहेकाले फूल खेती सुरु गरेको सञ्चालक रमा खड्का केसीले बताइन् ।
अहिले तिहारको माहोल भएकाले सात सय ५० रुपैयाँ प्रतिकेजी फूल बिक्री गरिरहेको उनको भनाइ छ । दसैंयता उनले ४० केजी फूल बिक्री गरिसकेकी छन् । ‘उत्पादन कम र माग बढी भएकाले मूल्य बढ्दै छ,’ उनले भनिन्, ‘मेरोमा एक क्विन्टलजति फूल उत्पादन हुन्छ होला तर सबै बुकिङ भइसकेको छ ।’
बजारमा प्लास्टिकका माला
किसानका बारीभरि ढकमक्क फूल फुलिरहे पनि वीरेन्द्रनगर बजारका अधिकांश किराना र कस्मेटिक पसलहरू प्लास्टिकका मालाले भरिन थालेका छन् । तिहार नजिकिएसँगै वीरेन्द्रनगरका अधिकांश पसल प्लास्टिकका मालाले रंगीचंगी भएका हुन् । चाडपर्वमा फूलको माग धान्न नसकेर पनि छिमेकी देश भारतबाट हरेक वर्ष धेरै मात्रामा प्लास्टिकका मालाहरू नेपाल भित्रिने गरेको स्थानीय व्यवसायी कमल केसीले बताए ।
सुर्खेतमा करिब २० वर्षदेखि कस्मेटिक व्यवसाय गर्दै आएका बुटवलका जुल्फकर अलीका अनुसार हरेक वर्ष चाडपर्वमा प्लास्टिकको मालाको माग बढ्ने गरेको छ । ‘विशेष गरेको यो सिजनमा कर्णालीका पहाडी तथा सुर्खेतको पश्चिमतिरको व्यवसायीले अधिकांश माला लैजानुहुन्छ,’ उनले भने, ‘पहिले जस्तो फूल पनि पाइँदैन फूल खोज्ने हैरानी गर्नुभन्दा प्लास्टिककै माला प्रयोग गर्न सहज मान्छन् ।’
-साभार : कातिपुर