“चुनावमा लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ” :- प्रधानमन्त्री

कर्णाली ।नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ गते लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने बताउनुभएको छ ।दैलेखको दुल्लुमा गठबन्धन दलद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले वाम–लोकतान्त्रिक र नेकपा एमालेसहितको राजावादी गठबन्धनबीच हुने चुनावी प्रतिस्पर्धामा मुलुकमा लोकतान्त्रिक–वाम गठबन्धनको जित सुनिश्चित भएको दाबी गर्नुभयो ।देशैभरिका लोकतान्त्रिक–वाम गठबन्धनका पक्षमा जनमत आउने जिकिर गर्दै उहाँले भन्नुभयो, ‘सदन भङ्ग गरेर संविधान सिध्याउनेविरुद्ध गठबन्धन सदाका लागि हुन्छ ।’
संविधान बचाउन र प्रतिगमन रोक्न बनेको गठबन्धनलाई अत्यधिक बहुमतले विजय गराउन प्रधानमन्त्री देउवाले सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।तत्कालीन कर्णाली राज्यको ग्रीष्मकालीन राजधानी सिञ्जापछिको शीतकालीन राजधानी दुल्लु दैलेखको पुरातात्विक एवं ऐतिहासिक संरक्षणसहित पर्यटकीय विकास गर्ने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले विकासमा दैलेखलाई उच्च प्राथमिकतामा राखिने बताउनुभयो ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्र रक्षाका लागि निर्माण लोकतान्त्रिक–वाम गठबन्धन संविधानमाथि हमला हुञ्जेलसम्म कायम रहिरहने बताउनुभयो ।
उनले गठबन्धन चुनावका लागि नभई संविधान र जनताको अधिकार रक्षाका लागि भएको जनाउनुभयो ।‘यो चुनाव विगतको जस्तो सामान्य नभई संविधान रक्षा गर्ने र त्यसलाई खोस्ने बीचको हो’, अध्यक्ष दाहालले भन्नुभयो, ‘कसलाई भोट हाल्ने र जिताउने भन्ने कुरा जनताको भागमा छ ।’ शान्ति र संविधानका पक्षमा उभिएको गठबन्धनको देशभरिको स्थितिलाई हेर्दा जित सुनिश्चित रहेको उहाँले दाबी गर्नुभयो ।पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रको भौतिक तथा पर्यटकीय विकासलाई गम्भीरताका साथ हेरिने प्रतिबद्धता व्यक्त गर्नुहुँदै अध्यक्ष दाहालले मुलुकको शान्ति, विकास र समृद्धिका लागि लोकतान्त्रिक–वाम गठबन्धनको विजय आवश्यक रहेको बताउनुभयो ।
–रासस