विद्यार्थी विरामी परेपछि तीनदिनका लागि विद्यालय बन्द,गावैभरि त्रास
छातिकोट, (दैलेख) । दैलेखको नारायण नगरपालिका – ५ छातीकोटमा विद्यार्थी विरामी पर्न थालेपछि तीनदिनका लागि विद्यालय बन्द गरिएको छ । बुधवार अभिभावक सहितको भेला गराई तीनदिन सम्म विद्यालय बन्द गरिएको हो ।
विरामी विद्यार्थीमा शुरुमा अनुहार रातो पिरो हुने,वान्ता हुने,ज्वरो आउने,रिंगटा लाग्ने लक्षण देखापरेको प्रधानाध्यापक घनश्याम रेग्मीले बताए । गएको शुक्रवार कक्षा ८ मा अध्ययनरत १३ बर्षिय छात्रामा लक्षण देखिएको थियो । विस्तारै सबै विद्यार्थीमा देखापरेको छ ,अहिले गाउँघरसम्म फैलिएको छ ।
एक सय भन्दा बढी विद्यार्थीमा रोग फैलिएपछि अभिभावकको सल्लाह बमोजिम विद्यालय तीन दिनका लागि बन्द गरिएको हो उनले भने । धिताहस्थित नवदुर्गा निमाविका सयौं विद्यार्थी बिरामीले थला परेका छन् । विरामी सबैमा एउटै लक्षण देखिएको छ ।
केही दिन अगाडी सोही ठाउँका धनबहादुर बस्नेतको दुई बर्षिय मृतक बालिकामा विरामीमा देखिएको लक्षण देखापरेको स्थानीयबासी बताउँछन् । मृतक बालक सँग यो रोगको लक्षण मिलेको छ । हामीलाई डर त्रासमा छौं अमृता बस्नेतले बताईन ।
गाउँका बुढापाका,बालबालिका,युवा सबैमा रोग देखिएको वडानं –५ का वडाअध्यक्ष लालबहादुर बस्नेतले बताए । उनले भने,गाउँभरि विरामी छन् । रोग अन्यत्र नफैलियोस भन्नका लागि विद्यालय बन्द गरिएको हो । मंगलबार जिल्ला अस्पताल दैलेखबाट डाक्टर विवेक गुरुङको नेतृत्वमा टोली गएपनि के रोगहरु भन्ने खुल्न सकेको छैन ।
एक जना विरामीको स्वास्थ्य कार्यालय दैलेखको आकस्मिक कक्षमा उपचार भईरहेको निमित्त कार्यालय प्रमुख थिरबहादुर रेग्मीले जानकारी दिए । उनले भने, के रोग हो अहिले भन्न सकिदैन । हामी उपचार भईरहेको विरामीको चेकजाँच गरेपछि खबर भन्न सकिन्छ । तर डाक्टर विवेक गुरुङ मौसम परिवर्तन सँगै सामान्य रुघाखोकी रहेको बताए । भोली सोही ठाउँमा गएर शिविर सञ्चालन गरिनेछ । अहिलेसम्म रोगको पहिचान हुन सकेको छैनन् ।
मंगलबार बिरामी सबैलाई जाँच गरी औषधि दिएर घरमा आराम गर्न सुझाव दिइएको उपचारमा खटिएका डा. गुरुङले बताए । यो कुनै महामारी नभई भाइरल ज्वरो भएको जनाइएको छ । हाल सबै बिरामीलाई औषधि दिइएको र आराम गर्न सुझाव दिइएको जनाउँदै गुरुङले विस्तारै औषधिले काम गर्ने हुँदा धेरै आत्तिन नपर्ने बताए ।
सयौं विद्यार्थी सहित अभिाक समेत विरामी परेकोले कति यो रोगले महामारी लिन सक्छ भन्ने स्थानीयबासीमा डर त्रास पैदा भएको छ । धिताह,छातीकोट,सोत सबै बस्तीमा रोग फैलिसकेको स्थानीयबासी पदम सिंह आलले बताए । उनले भने,कतै कोभिड १९ होकी भनेर डरत्रास छ । भरखरै गाउँकै एक बालकको मृत्यु भयो । विरामीसँगै मृतक बालकको लक्षण मिल्दो जुल्दो छ ।
गाउँभरि विरामी हुन थालेपछि अहिले स्थानीय स्वास्थ्यचौकीमा बिरामीको भिड लाग्ने गरेको स्वास्थ्यचौकी प्रमुख षडानन्द शर्माले बताए । स्वास्थ्य चौकी दिनहुँ १ सय जना भन्दा बढी विरामी आउँछन्,उनले थपे ।