महाबु गाउँपालिकाका अध्यक्ष गुरुङको निधन
दैलेख । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको (७९) बर्षमा निधन भएको छ। शुक्रबार बिहान उनको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
बिहिबार मुटुमा दुखाई बढेपछि उनलाई जिल्ला सदरमुकाममा रहेको मेडिकलमा ल्याईएको थियो। मेडिकलले अवस्था सामान्य भनेपछि बिहिबार राती नै फिर्ता भएका थिए।
शुक्रबार बिहान पुनः मुटु दुखेपछि गुरुङलाई सदरमुकाम ल्याईएको थियो। उनलाई अस्पताल पुग्नै लाग्दा हृदयघात भएको थियो। दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार बिहान ११ बजेर ४० मिनेटमा अस्पतालमा उनलाई मृत घोषणा गरेको थियो।
२०७४ को निर्वाचनमा उनी नेपाली काँग्रेसबाट महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। गुरुङ कर्णाली प्रदेशका पालिका प्रमुखमध्ये जेष्ठ सदस्य हुन्।
