कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले राकममा सय बेडको अस्पताल बनाउने
सुर्खेत । दैलेख आठबीस नगरपालिका राकम ४ का कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सय बेडको अस्पताल बनाउने भएको छ ।

अस्पताल निर्माणका लागि प्रतिष्ठानको पहल र आठविस नगरपालिकाको समन्वयमा स्थानीयबासीले ४२ रोपन जग्गा समेत हस्तान्तरण गरिसकेका छन् । पुर्व नगरप्रमुख खडगराज उपाध्याय र राकममा अस्पताल निर्माणका लागि प्रतिष्ठानका निर्देशक बिच २०७६ फागुन १० गते समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौता मितिदेखि प्रतिष्ठानले आठबीस नगरपालिकालाई विशेषज्ञ सेवा प्रवाहका लागि चिकित्सक पठाउने गरेको छ । अहिले आठबीसको स्वास्थ्य सेवामा सहयोग पुगोस् भन्ने हेतुले गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा प्रतिष्ठानले अक्सिजन प्लान्ट सहयोग गरेको छ । सोको गएको मंगलवार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले गरेका छन् । अक्सिजन प्लान्ट उद्घाटन सत्रमा योजनामन्त्री शाहले प्रदेश सरकारले राकम कर्णालीमा सय बेडको अस्पताल निर्माण गर्ने कार्यलाई पहिलो प्राथमिकता दिने बताए । ‘विस्तृत परियोजना प्रतिवेदन तयार गर्दै हुनुहुन्छ । त्यसलाई जतिसक्दो छिटो बनाउनुस्,’ उनले भने, ‘प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्थापन गर्छ ।’
जल पर्यटनको विकास गर्दा युवा रोजगारी वृद्धि हुनसक्ने भन्दै र्याफ्टिङका लागि राकममा ट्रेनिङ सेन्टर खोल्ने आश्वासन दिए । जलस्रोत, प्राकृतिक ग्यास, बहुमूल्य पत्थर, जडीबुटी, रैथाने उत्पादन तथा सांस्कृतिक एवं पुरातात्त्विकरूपले धनी कर्णालीको स्वास्थ्य र शिक्षाबारे संघीय संसदमा ध्यानाकर्षण गर्न कर्णाली राराको यात्राका लागि राकम पुगेकी सांसद सोविता गौतमलाई आग्रह गरे ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले अस्पताल निर्माणका लागि राकम छानेको भन्दै मन्त्री शाहले धन्यवाद दिए । सांसद गौतमले राकममा अस्पताल निर्माणका लागि प्रतिष्ठानले ठूलो भूमिका खेलेको बताइन् । कर्णालीको स्वास्थ्य र शिक्षा तथा यहाँको ऐश्वर्यका विषयमा सांसदमा कुरा राख्ने उनको भनाइ छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले प्रतिष्ठानले कर्णालीका १० र सुदूरपश्चिमका बझाङ, बाजुरा र अछामलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएको जानकारी दिए । ‘राकम कर्णाली हुम्ला र मुगुको तल्लो भेक, बाजुरा, अछाम, कालीकोट र दैलेख जिल्लाको ट्रान्जिट पोइन्ट नै हो । कर्णाली राजमार्ग पनि यसैमा परेकोले कुनै दुर्घटना वा अन्य बिरामीको उपचारका लागि राकम केन्द्रविन्दु नै पर्छ ।’
उपकुलपति रावलका अनुसार प्रतिष्ठानले सहयोग गरेको ३२ लाख पाँच हजार रुपैयाँ बजेटको अक्सिजन प्लान्टले एक सय ७० देखि दुई सय सिलिन्डर भरेर कालीकोट र अछाममा निर्यात गर्न सक्छ । यसका लागि विद्युत् आवश्यक पर्छ । दुर्गममा स्वास्थ्य शिक्षा र अनुसन्धान गर्ने संस्थाको विकासमा सरकारले प्राथमिकता दिनुपर्नेमा उहाँको जोड थियो । तर विद्युतको केन्द्रिय प्रसारण लाईन राकम हुदै कालिकोट पुगे पनि आठविस राकमबासी बत्तीमुनिको अध्यारोमा रात विताउँदै आएका छन् ।
