डुङ्गेश्वरमा एक वडा एक गौरबको योजना कार्यान्वयन गरिने
सुर्खेत । दैलेखको डुङ्गेश्वर गाउँपालिकाले एक वडा एक गौरबको योजना कार्यान्वयन गर्ने भएको छ । गाउँपालिकाले एक वडा एक गौरबको योजनालाई प्राथमिकता दिई कार्यानवयन गर्ने नीति तथा कार्यक्रम अघि सारेको हो । गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीद्धारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यो कार्यक्रमलाई प्राथमिकता दिईएको छ । समृद्ध गाउँपालिका र सुखी डुङ्गेश्वरबासी बनाउन सुशासन, कृषि, पर्यटन र पूर्वाधार : डुङ्गेश्वर समृद्धिको मुल आधार नारासहित अघि बढेको अध्यक्ष केसीले बताए ।
गाउँपालिकालाई सुशासनयुक्त बनाउने, कृषकको जीवनस्तर सुधार्न एकीकृत कृषि विकास कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारेको छ । यस्तै डुङ्गेश्वरको ६ वटा वडामध्ये वडा नम्बर १ लाई औद्योगिक नगरी, २ लाई पर्यटन, ३ लाई कृषि तथा पुशपालन, ४ लाई शैक्षिक, ५ लाई शासन केन्द्र र ६ लाई व्यापारिक हकको रुपमा विकास गर्ने नीतिलाई निरन्तरता दिईएको छ ।
गाउँपालिकाका अध्यक्ष केसीका अनुसार उज्यालो डुङ्गेश्वर अभियानलाई पुरा गर्ने,एक घर एक धारा अभियान सञ्चालन गर्ने र सुरक्षित नागरिक आवास कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रम ल्याईएको छ ।
विद्यालयमा जंगफुड पूर्णरुपमा निशेष गरि स्थानीयस्तरमै उपलब्ध खाद्यान्नलाई अनिवार्य गर्ने नीति गाउँपालिकाले लिएको छ । गाउँपालिकाले चुप्रा, डुङ्गेश्वर बजार, देउली बजार, डाँडापराजुल, अवलपराजुल र हनेटामा हाट हजार सञ्चालन गर्ने र बीउ केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ । गाउँपालिकाले आर्थिक विकास, सामाजिक विकास, वन वातावारण तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ ।
