लिफ्ट सिँचाइबाट सिरेनी क्षेत्रलाई हरियाली बनाइँदै
सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–७ का सिरेनी, सुँगरखाल र कोप्चीलगायतका गाउँहरुलाई पानी माथिको ओभानो बस्ती भनेर चिनिन्छ । वस्ती नजिकैबाट भेरी नदी सुसाईरहेको भएपनि सिँचाइको सुविधा छैन । खेतीपातीका लागि किसानले आकाशे पानीको भर पर्नु पर्छ ।
जति मेहनत गरेपनि सिँचाइ अभावले वर्षभरी खानपुग्ने अन्न उत्पादन गर्न हम्मे हम्मे पर्छ । तर, अहिले भने सौर्य शक्तिमा आधारित सिँचाइ प्रविधि भित्र्याएर गाउँको मुहार फेर्न नागरिक तल्लिन रहेका छन् । एक करोड ६१ लाख रुपैयाँको लागतमा सौर्य शक्तिको प्रयोगबाट भेरी नदीको ८० मिटर माथि ४० घरपरिवारलाई पायक पर्ने गरी पक्की पोखरी निर्माण कार्य शुरु गरिएको छ ।
‘बाह्रै महीना गाउँमा सिँचाइको सुविधा पुगेपछि युवा विदेश जाने सोच त्यागेर तरकारी खेतीबाट मनग्यै आम्दानी गर्न सक्नेछन्,’ कर्णाली प्रदेश सभा सांसद ठम्मरबहादुर विष्टले भने, ‘सिँचाइ अभावले गाउँमा अन्नपात उब्जनी नहुँदा गाउँका युवालाई परिवार चलाउन कालापहाडदेखि खाडीमुलकसम्म भौतारि रहनु परेको छ ।’
उनले सिँचाइ सुविधा नहुँदा उचित प्रतिफल पाउन नसकेका कृषकहरु लिफ्ट सिँचाइ प्रविधि ल्याइएपछि उत्साहित भएको बताए । ‘पूर्वी सुर्खेतको निर्वाचन क्षेत्र नम्वर १, मा यस्ता अन्य कयौं वस्तीहरु छन् ।
कृषिलाई व्यवसायिक गराउन प्रोत्साहन गरिएको यस्तो प्रविधिले कृषि पेशालाई उत्पादनशील बनाउन टेवा पुर्याउने विश्वास लिएको छु,’ उनले भने, ‘सिरेनी, सुँगरखाल र कोप्ची मात्र होइन, यस्तो प्रविधि सिँचाइ समस्या भएका अन्य स्थानमा पनि अनुसरण गराउन मेरो प्रयास जारी छ ।’ उनले बाह्रै महीना सिँचाइ सुविधाको चुनौतीको रुपमा रहेका सिरेनी, सुँगरखाल र कोप्चीलगायतका सुक्खावस्तीहरुमा सिँचाइ पुर्याउन जनप्रतिनिधिले पहल गरेअनुसार प्रदेश सरकार लागि परेको बताए ।
विपन्न दलित समुदायको बाहुल्यता रहेको सिरेनी, सुँगरखाल र कोप्चीलगायतका गाउँहरुमा कर्णाली प्रदेश सरकार खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालयको सहयोगमा अढाई लाख क्षमताको पानी पोखरी (वाटर रिजर्भ ट्यांकी) बनाउन लागिएको छ ।
चालू आर्थिक वर्षको असार मसान्तभित्रै सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइएको खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालयका ईन्जिनियर डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार हालसम्म करीब ६० प्रतिशत भौतिक प्रगति भइसकेको छ । ‘भेरी नदी–गोचेखोला–सिरेनी लिफ्ट सिँचाइ आयोजनाबाट करीब ४० हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने लक्ष्य राखिएको छ,’ उनले भने, ‘ग्रामीण सडक पहुँच पुगेका यस्ता क्षेत्रमा कृषकको दिगो आर्यआजनका लागि लिफ्ट सिँचाइ आयोजना कोसेढुंगा सावित हुने विश्वास राखेका छौं ।’
उनले नजिकै पानीको स्रोत भएपनि सुख्खा रहेका सुर्खेतका वस्तीहरुका लागि लिफ्ट सिँचाइ उपयुक्त रहेको बताए । यता गाउँमा पर्याप्त कृषियोग्य जनशक्ति भएपनि सिँचाइ अभावले उत्पादन बढाउन नसक्दा घरखर्च चलाउनकै लागि विदेशिनु परिरहेको स्थानीय टेकबहादुर विकले बताए ।
