कोरोना संक्रमणबाट शिक्षकको मृत्यु
दैलेख । बुधवार साँझ दैलेखमा एकजना शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भैरवी गाउँपालिका -४ का ४५ बर्षिय पुरुष हुन् । गएको सोमवार गरिएको आरटी–पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका मृतक दैलेखस्थित आइसोलेसन अस्पतालमा उपचाररत रहेको डाक्टर जगत थापाले जानकारी दिए ।
‘ आइसोलेसनमा अक्सिजन सहित उपचाररत ती पुरुषको स्वास्थ्य स्थिति थप जटिल बन्न थालेपछि थप उपचारको लागि सुर्खेत रिफर गरिएको डाक्टर थापाले थियौं । थप उपचारका लागि सुर्खेततर्फ लैजाँदै गर्दा दैलेख सुर्खेत सडक खण्डको जीरो पोइन्ट सियाकोटमा मृत्यु भयो,उनले भने । कोरोना संक्रमणबाट मृतक ती पुरुषको शव अहिले दैलेख अस्पतालको आइसोलेसनमै राखिएको छ । मृत्यु भएका व्याक्ति भैरबी गाउँपालिका–४ स्थित गौरी माध्यामिक विद्यालय बालेकाँडामा अध्यापन गराईरहेका थिए ।
दोस्रो चरणको कोरोना संक्रमण सँगै दैलेख जिल्लामा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यस अघि कोरोनाबाट ७५ र ३५ बर्षीय पुरुष र २७ बर्षीया गर्भवती महिला गरी तीन जनाको मृत्यु भईसकेको छ । गतबर्ष दैलेख जिल्लामामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको थियो भने दैलेखमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
कोरोना संक्रमण समुदायमा फैलिए सँगै रोकथाम तथा नियन्त्रणका जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहरलाई कम गर्न प्रशासनले एक हप्ता निषेधाज्ञा जारी गरेको हो । बैशाख २१ देखी राती १२ बजेदेखि बैशाख २८ गते राती १२ सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।
स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्न, भीडभाड नगर्न, २५ जना भन्दा बढि भेला नगर्न आदेश दिएको स्थानीय प्रशासनले नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि कडाई गर्दै निषेधाज्ञा जारी गरेको हो । जिल्लामा निषेधाज्ञाको पालना गरिएपनि गाउँघरमा मानिसको भिडभाड ओहोरदोहोर हुने चहलपहल उस्त रहेको छ । स्थानीय सरकारका जनप्रतिनिधीहरुका वेवास्ताले गर्दा गाउँ नै कोरोनाको हटस्पट वन्ने देखिएको छ ।
