मुगु अपडेट : शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर साेधपुछ जारी
अझै फेला पार्न सकेन प्रहरी क्लु
सुर्खेत। मुगुमा तीन बालबालिकासहित चार जनाकाे हत्या गरिएकाे विषयमा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर प्रहरीले साेधपुछ जारी राखेकाे छ । यद्यपि ती व्यक्तिकाे नाम ठेगाना भने गाेप्य राखिएकाे छ। अनुसन्धानमा बाधा नपुगाेस् भन्ने उद्देश्यले सार्वजनिक नगरिएको प्रहरीकाे भनाइ छ। ‘कुनै ‘क्लु’ पत्ता लागेर भन्दापनि शंकाकाे आधारमा साेधपुछका लागि मात्र हाे, यसलाई पक्राउ भन्न मिल्दैन,’ घटनामा सक्रिय एक अनुसन्धान अधिकृतले भने, ‘ याे क्रम अरुमा पनि हुन सक्छ।’ ती अधिकृतका अनुसार अहिलेसम्म घटनाको विषयमा कुनै ‘क्लु’ पत्ता लागेकाे छैन । तालिम प्राप्त कुकुर, प्रदेश प्रहरी कार्यालयकाे अनुसन्धान विशेष टाेली र जुम्लाबाट पनि अनुसन्धान विशेष टाेली खटिएकाे छ। तर, तालिम प्राप्त कुकुरले पनि कुनै संकेत दिन सकिरहेकाे छैन। आइतबारदेखि अनुसन्धानलाई सघाउन डिआईजी भिम प्रसाद ढकाल पनि घटनास्थलमा पुगेका छन्। शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । घटना बुधबार बेलुका नै घटेकाे र प्रहरीले ढिलाे गरि थाह पाएका कारण पनि अनुसन्धानमा कठिनाई भइरहेकाे अनुसन्धान सक्रिय एक अधिकृतले राताेपाटीलाई जानकारी दिए । शनिबार शव जिल्ला अस्पतालमा ल्याइएको भएपनि पाेस्टमार्टक हुन सकिरहेकाे छैन। छाँयानाथ रारा नगरपालिका–६, वडाध्यक्ष खेमबहादुर रावल भन्छन्, ‘अपराधी पक्राउ नै नपरेर पाेस्टमार्टम गर्न पनि गाह्रो छ। पाेस्टमार्टम गरेपछि लाश बुझ भन्लान, त्यसाे गरे त हुँदैन नि !’