मृतक रावतका परिवारलाई कर्णाली प्रदेश सरकारले २ लाख दिने
सुर्खेत । कर्णाली प्रदेश सरकारले ललितपुरको बालकुमारी घटनामा मारिएका दैलेखको महावु गाउँपालिका-६ का सुजन रावतका आफन्तलाई २ लाख रुपैयाँ राहत दिने भएको छ ।
शुक्रबार बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सुजनको परिवारलाई राहत स्वरुप उक्त रकम दिने भएको मुख्यमन्त्री राजकुमार शर्माले जनाए । ‘बालकुमारी घटनामा मृत्यु भएका सुजन रावतको परिवारलाई २ लाख राहत दिने भएको छ, यस बारे छिट्टै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिनेछ ।’ मुख्यमन्त्री शर्माले भने ।
यसैबीच, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मंगलबार बिहान सुजनको शवमा श्रद्धाञ्जली दिन सुर्खेत विमानस्थल पुगेका थिए ।
