आर्मी र पुलिसको लगातार दोस्रो जित
सुर्खेतमा जारी ३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा विभागिय टोलीहरु त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेका छन् ।
आईतबार भएको तेस्रो दिनको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई पराजित गरेको हो । प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा पुलिसले बागमतीलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१०, २५-१३ र २५-१७ को अन्तरमा तीनै सेट जितेको हो ।
लगातार तेस्रो हार सहित बागमती प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ । बागमती प्रदेश पहिलो खेलमा लुम्बिनी प्रदेश र दोस्रो खेलमा कोशी प्रदेशसँग पराजित भएको थियो ।
शनिबार नै भएको दोस्रो खेलमा मधेश प्रदेश गण्डकी प्रदेशसँग ३-० को सोझो सेटमा पराजित भयो । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा गण्डकी २५-१०, २५-१३ र २५-१७ ले विजयी भयो । गण्डकीले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । पहिलो खेलमा सुदूरपश्चिमलाई पराजित गरेको मधेशको भने यो लगातार दोस्रो जित हो ।
आइतबारै भएको अर्को खेलमा साबिकको विजेता नेपाल एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा एपीएफले लुम्बिनीलाई ३-१ को सेटमा पराजित गरेको हो । लुम्बिनीले एपीएफमाथी २५-२२, २३-२५, २५-२२ र २५-१५ ले नतिजा सुम्पियो । पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको लुम्बिनीको यो लगातार दोस्रो हार हो ।
आइतबारको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशमाथि जित निकालेको थियो । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा आर्मी ३-१ को सेटमा विजयी भएको थियो । आर्मीले २५-१५, २१-२५, २५-१४ र २५-१८ को सेटमा खेल जितेको थियो ।
प्रतियोगितामा तीन विभागीय सहित सात प्रदेशको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।
प्रतियोगिताका सबै खेल सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा हुनेछ । नेपाल भलिबल संघको आयोजनामा जारी उक्त प्रतियोगिता पुस २६ सम्म संचालन हुनेछ ।
