यस वर्ष एसईईको परीक्षा चैत पहिलो साता हुने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो साता हुने जानकारी दिएको छ। ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार चैतको पहिलो साता हुनेछ,’ बोर्डका अध्यक्ष महाश्रम शर्माले बुधबार एक कार्यक्रममा भने, ‘त्यसका निम्ति माघको पहिलो हप्ता रुटिन निकाल्छौं ।’
शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको अन्तर्क्रियामा अध्यक्ष शर्माले बोर्डको निर्धारित तालिकाअनुसारै एसईई हुने जानकारी दिएका हुन्। शिक्षा विधेयकमा कक्षा १० को परीक्षा उल्लेख नरहेकाले यो वर्ष एसईई हुने वा नहुने भन्नेबारे अन्योलमा थिए।
शिक्षा विधेयक संसदबाट पास भएर कानुन नबनुञ्जेल एसईई परीक्षा हुने पनि उनले स्पष्ट पारे।
जाजरकोट र रुकुम पश्चिमका पालिकाहरूमा परीक्षा सञ्चालन गर्न र परीक्षा केन्द्र राख्न उपयुक्त छ/छैन भनेर प्रधानाध्यापकहरूसँग भेटेर छलफल गरेको पनि अध्यक्ष शर्माले जानकारी दिए।
एसईईका निम्ति यस वर्ष ४ लाख ८९ हजार ४४४ जना विद्यार्थीले रजिस्ट्रेसन भरेका छन्। परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो वर्ष पहिलो पटक नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुने र विद्यार्थीले प्रत्येक विषयमा ३५ प्रतिशत अंक हासिल गर्नु पर्ने प्रावधान राखिएको बताए।
