राष्ट्रिय भलिबलको उपाधि पुलिस क्लबलाई
सुर्खेत। ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लव (एनपिसी)ले जितेको छ । कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार सशस्त्र प्रहरी बल (एपिएफ)सँगको खेलमा ३–१ ले उपाधी हात पार्न सफल भएको हो ।
पहिलो सुरुवाती सेट पुलिसले गुमाएको थियो । एपिएफले २५–२२ ले १ अंक लिन सफल भएको थियो । तर, दोस्रो, तेस्रो र चौथौं सेट लगातार पुलिस क्लवले जितेको हो । पुलिस क्लवले क्रमशः २५–१९, २५–१८ र २५–२३ मा ३ अंक लिन सफल भएको हो ।
यससँगै पुलिसले समूह चरणमा एपिएफसँग भोगेको हारको बदला लिएको छ । समूह चरणमा पुलिस एपिएफसँग ३–१ को सेटमा पराजित भएको थियो ।
२० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो । समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश रहेका छन् । शीर्ष दुई टोलीले सेमिफाइनल खेलेका थिए ।
