विकास निर्माणमा महिला सहभागिता बढ्दो
दैलेख । चुलोचौकामा सीमित रहने दैलेखको ग्रामिण भेगका महिला आजभोलि विकास निर्माण र सामाजिक काममा अग्रसर हुन थालेका छन् । दैलेखका अधिकांश पुरुष हिउँदे बाली लगाएपछि रोजीरोटीका लागि कामको खोजीमा भारतलगायत अन्य मुलुकमा जाने भएकाले यहाँका महिला विकास निर्माणको कामदेखि सामाजिक कामसम्म आफैं अग्रसर हुन थालेका हुन् ।
प्रायः पुरुषहरू गरिबीले गर्दा रोजगारीका लागि भारत, खाडी मुलुक तथा नेपालका अन्य सहरमा जाने भएकाले गाउँमा महिला मात्र रहने हुँदा विकास निर्माणमा महिला सहभागिता बढ्दै गएको हो ।
‘पराई घरमा जाने छोरीलाई पढाउने चलन थिएन, त्यति बेला औंला अख गन्न सकिने छात्रा मात्र विद्यालयमा भेटिन्थे, अहिले छात्रभन्दा बढी छात्रा संख्या छ,’ भैरवी गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले भनिन् ।
भैरवी गाउँपालिकाले अहिले छोरी वचत खाता सञ्चालन गरेको छ । २० वर्षसम्म पालिकाले १ हजार र प्रदेश सरकारले ५ सय रुपैयाँ खातामा जम्मा गरिदिन्छ । आगामी दिनमा छोरीले आत्मनिर्भर व्यवसाय गरून् भन्ने उद्देश्यले छोरी वचत खाता सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष भण्डारीले बताइन् ।
दैलेखमा २०७८ को जनगणनाअनुसार महिला साक्षरताको तथ्यांक ६८ दशमलव ७ प्रतिशत रहेको छ ।
घरमा रहेका पुरुष पनि विकास निर्माण र सामाजिक काममा त्यति अग्रसर नहुने भएका कारण महिलाले नै सबै काममा अग्रसर हुने गरेको ठाटीकाँध गाउँपालिका–२ की मनसरा विष्टले बताइन् । गाउँमा पुरुष नहुँदा स्थानीय विकास निर्माण तथा अन्य रोजगारीका काममा महिला सहभागिता हुने गरेको उनको भनाइ छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम, कर्णाली मुख्यमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालित विकास निर्माणका कामसँगै स्थानीय रूपमा हुने अन्य विकास निर्माणका काममा पनि महिला नै सहभागी भएको सोही गाउँपालिका–१ की मनसरा शाहीले बताइन्, ‘हामीले स्थानीय विकास निर्माणका काममा पनि सक्रिय सहभागिता जनाउने गरेका छौं,’ उनले भनिन् ।
गाउँघरमा हुने धारा, पधेंरा, सडक, खानेपानी, विद्युत्, भवन निर्माणका काममा पनि महिलाको विशेष सहभागिता रहने गरेको भगवतीमाई गाउँपालिका–१ की धनाकुमारी विकले बताइन् । ‘अब हामी गाउँमा नै बसेर विकास निर्माणका काम गरेर आम्दानी गर्छौं,’ उनले भनिन् ।
दिगोपनाका लागि महिलाको सक्रियता
पछिल्लो समय खानेपानी दिगोपनाका लागि समेत महिला सक्रियता बढेको छ । केही दिनअगाडि दैलेखको भगवतीमाई गाउँपालिकामा गरिएको ९ दिने खानेपानी योजना दिगो सञ्चालन तथा मर्मत सम्भार तालिममा पुरुषभन्दा महिला सहभागिता बढी भएको भगवतीमाई गाउँपालिकाकी उपाध्यक्ष मीनाकुमारी खड्काले बताइन् । हरेक वर्ष गाउँपालिकामा खानेपानी योजना बन्ने, तर योजनाको मर्मत सम्भार नहुँदा योजना दिगो सञ्चालन नहुने देखिएकोले पुरुषसँगै महिलालाई पनि सीप विकास र मर्मत सम्भार तालिम दिइएको सुस्वा आयोजना भगवतीमाई गाउँपालिकाले जनाएको छ ।
खानेपानी योजनाको अवधि २० वर्ष भए तापनि मर्मत सम्भार कार्यकर्ता परिचालन हुन नसक्दा जिल्लाभर दर्जनौं खानेपानी योजना बन्द भइसकेका छन् । पुरुष मर्मत सम्भारको तालिम लिएर पनि वैदेशिक रोजगारमा जाने, महिला घरमै बस्ने हुँदा यसलाई दक्ष मिस्त्री र मर्मत सम्भारको तालिममा महिला सहभागिता बढाइएको सुस्वा आयोजनाको भनाइ छ ।
वर्षात्मा पहाडी जिल्लामा जताततै मूल फुट्ने, हिउँद लागेपछि मुहान सुक्ने र घन्टौं लगाएर पानी ल्याएर पिउनुपर्ने बाध्यता, आफूले भोग्नुपरेको पीडा समेत बुझ्न थालेपछि महिला आफंै सीप सिक्दै काम गर्न थालेका हुन् । भगवतीमाई गाउँपालिका सुस्वा आयोजनाले १ करोड रुपैयाँभन्दा बढीको लागतमा ५ वटा खानेपानी योजना निर्माण गर्दै छ । निर्माणाधीन खानेपानी योजनामा प्लम्बिङदेखि संरचना निर्माणका लागि महिला सीप सिकेर काम गरिरहेका छन् भने स्वरोजगारसमेत बन्न पुगेका छन् ।
लामतडा खानेपानी तथा सरसफाइ योजनाको मर्मत सम्भार कार्यकर्ता रमिताकुमारी खड्काले आफ्नो बस्तीमा सीप सिकेको कोही नभएको बताइन् । ‘हामीलाई पाइप टाल्न आउँदैन थियो, यसरी धाराको टुटी काट्ने, खानेपानीको ट्यांकी बनाउने, खानेपानीको मुहानदेखि घरसम्म सुरक्षित पानी कसरी प¥याउने भन्ने केही कुरा पनि हामीलाई थाहा थिएन, तालिमपछि धेरै कुरा बुझ्यौं । हामीले कति असुरक्षित पानी खाएका रहेछौं भन्ने पनि थाहा पायौं । अब हामी आफ्नो योजनाको दिगोपना र सुरक्षितका लागि काम गर्छौं,’ उनले भनिन् ।
खानेपानी योजना सञ्चालनका लागि निर्माणभन्दा मर्मत सम्भार कार्यकर्ता (हेरालु) को निकै महŒव रहेकाले महिलालाई मर्मत सम्भार र दक्ष मिस्त्रीको तालिम दिइएको सुस्वा आयोजनाका बास सल्लाहकार सूर्य थापाले बताए । पुरुषलाई तालिम दिँदा रोजगारीका लागि पुरुष विदेश जाने, मर्मत सम्भारका लागि कोही नहुने र योजना जीर्ण हुने हुँदा महिला र पुरुष दुवैलाई दक्ष मिस्त्री र खानेपानी मर्मत सम्भारको तालिम दिएका हौं,’ उनले भने ।
तस्बिर :भक्तबहादुर शाही/दैलेख
