न्युजिल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको आइतबारको खेलमा नेपालले न्युजिल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ । उक्त खेलमा न्युजिल्यान्डले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । जारी प्रतियोगितामा नेपालले पहिलो खेल खेल्न लागेको हो ।
यू–१९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल र न्युजिल्यान्डका अतिरिक्त पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् । यू–१९ विश्वकपको यसअघिको संस्करणमा नेपालले दुईपटक न्युजिल्यान्डलाई हराइसकेको छ ।खेल नेपाली समयअनुसार, दिउँदा १ः४५ बजे सुरु हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ ।
नेपाल टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द पनि टोलीमा रहेका छन् ।
न्युजिल्यान्ड टिम
ओस्कर ज्याक्सन (कप्तान), मासन क्लार्क, साम क्लोड, ज्याक कमिङ, रहमान हेक्मत, टम जोन्स, जेम्स नेल्सन, स्नेहिथ रेड्डी, म्याट रो, इवाल्ड श्रुडर, लाचलान स्ट्याकपोल, ओलिभर टेवाटिया, एलेक्स थम्पसन, रायन सोर्गास, ल्यूक वाटसन पनि टोलीमा रहेका छन् ।
यू–१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो । यसपटक प्रतियोगितामा १६ वटा राष्ट्रको सहभागिता रहेको छ । यू–१९ विश्वकप सुरु हुनुअघि नेपालले दक्षिण अफ्रिकामा दुईवटा औपचारिक अभ्यास खेल खेलेको थियो । नेपालले आफ्नो पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ‘डकवर्थ एन्ड लेविस’ नियमका आधारमा सात विकेटले हराएको थियो ।
नेपाल र वेस्ट इन्डिजबिचको दोस्रो अभ्यास खेल भने वर्षाका कारण अनिर्णित रुपमा सकिएको थियो । औपचारिक अभ्यास खेलअघि खेलिएको दुईवटा अनौपचारिक अभ्यास खेलमा पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो ।