कर्णाली एक्सपो (महोत्सव) को मिति सर्यो
सुर्खेत । कर्णाली एक्सपो महोत्सवको मिति सर्यो सुर्खेतको वीरेन्द्रनगरमा हुन लागेको तेस्रो कर्णाली एक्सपो–२०८० महोत्सव मिति सरेको छ । यसअघि माघ २६ गतेदेखि फागुन ५ गतेसम्म हुने भनिएको महोत्सव अब फागुन १४ गतेदेखि २२ गतेसम्म हुने भएको हो । महोत्सव तयारी पुरा नभएको भन्दै महोत्सवको मिति सारिएको आयोजक सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले खबरदृष्टिलाई जानकारी दिए ।
‘उच्च अदालत सुर्खेत रिट पर्यो त्यसले गर्दा हामीलाई तयारी गर्ने वातावरण नै मिलेन्, मौसममा पनि केही खराब देखिएको छ, दर्शकहरु भरिभराउँ हुन्न कि भन्ने डर भयो, त्यसैले गर्दा हामीले महोत्सवको मिति सारेका हौ,’ उनले भने, ‘अब महोत्सव फागुन १४ गतेदेखि सुरु हुन्छ ।’ कर्णाली प्रदेशको आर्थिक समृद्धिको अभियानमा महत्वपूर्ण टेवा पुर्याउने उद्देश्यले सुर्खेत उद्योग वाणिज्य संघले कर्णाली एक्सपो सञ्चालन गर्ने जनाएको छ ।
आयोजकले कर्णाली एक्सपो आयोजना गर्नुको मुख्यतया: तीनवटा कारण रहेको बताएको छ। जसमध्ये संघले स्थापना गरेको व्यवसायी राहत अक्षय कोषमा रकम अभिवृद्धि गरी एक करोडसम्म पुर्याउने, संघअन्तर्गत रहेका वस्तुगत समितिहरूका लागि बेग्लै बैठक कक्षसहित उपकरणको व्यवस्थापन गर्ने र निजी क्षेत्र र संचार माध्यमबिच आपसी समन्वय गर्दै आर्थिक क्षेत्रमा योगदान पुग्याउने पत्रकारहरूको सामाजिक सुरक्षाका लागि पाँच लाखसम्मको अक्षयकोष खडा गर्ने बताएको छ ।
