दैलेख १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि डुङ्गेश्वरलाई
दैलेखको ठाटिकाँध गाउँपालिकामा सम्पन्न १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि डुङ्गेश्वर गांउपालिकाले जितेको छ। शुक्रबार सम्पन्न प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ७ कास्य पदकसहित डुङ्गेश्वर गांउपालिकाले उपाधि हात पारेको हो।



प्रतियोगितामा ६ स्वर्ण, ५ रजत र १० कास्यसहित नारायण नगरपालिका द्वितीय तथा ५ स्वर्ण, ४ रजत र २ कास्यसहित नैमुले गाउँपालिका तृतीय हुन सफल भएका छन्। प्रतियोगिताको विजेता डुङ्गेश्वर गांउपालिकालाई रनिङ सिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ।

त्यसैगरी, द्वितीय भएको नारायण र तृतीय भएको नैमुलेलाई क्रमशः ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको ठाटिकाँध गाउँपालिकाका खेलकुद समितिका अध्यक्ष दिपाल शाहिले जानकारी दिए। उनका अनुसार, भलिबल, कबड्डी, एथलेटिक्समा विधागत रूपमा विजेता र उपविजेता बन्न सफल भएका स्थानीय तहका विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको छ।
प्रतियोगितामा भलिबलमा छात्रतर्फ ठाटिकाँध गाउँपालिका प्रथम र चामुन्डा नगरपालिका द्वितीय, छात्रा भलिबलमा ठाटिकाँध गाउँपालिका प्रथम र नारायण नगरपालिका द्वितीय हुन सफल भए। त्यसैगरी, कबड्डीको छात्रतर्फ डुङ्गेश्वर गांउपालिका प्रथम र आठबिस नगरपालिका द्वितीय तथा छात्रातर्फ आठबिस नगरपालिका प्रथम र चामुण्डाबिन्द्रासैनी नगरपालिका द्वितीय भए।
कार्यक्रमका प्रमुख अतिथि चामुण्डा बिन्द्रासैनि नगर पालिकाका नगर प्रमुख गणेश कुमार शाही ठाटीकाँध गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाह, ठाटिकाँध गाउँपालिकाका खेलकुद समितिका अध्यक्ष दिपाल शाहि, निमित प्रमुख प्रशासकिय अधिकृत नेत्र बहादुर थापालगायतले पुरस्कार वितरण गरेका थिए।
