कर्णाली पुलमाथि गुड्दै गरेको ट्रकमा आगलागी

लम्की (कैलाली) । कर्णाली पुलमा सोमबार गुड्दै गरेको ट्रकमाथि आगलागी भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ख ५२९७ नम्बरको ट्रकमा सोमबार साँझ एक्कासी आगलागी भएको थियो । आगलागीबाट एक करोड १५ लाख ६८ हजार बराबरको ट्रकमा रहेको एक हजार एक सय कार्टुुन लाइटर र नगद ५७ हजार रुपैयाँ जलेर नष्ट भएको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार क्षतिको अन्य विवरण आउन बाँकी छ ।
आगलागीबाट ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट पुुलको पूर्वपट्टि रहेका १४ वटा डोरीमा क्षति पुुगेको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए । आगो निभाउन लम्कीचुहा, घोडाघोडी, टीकापुर नगरपालिका र बर्दियाको बाँसगढी नगरपालिकाको दमकल प्रयोग गरिएको थियो।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयवासीलगायतले आगो निभाएका छन् । लम्कीचुहा नगरपालिका–३ का वडाअध्यक्ष लवबहादुर शाहीले आगलागीबाट पर्यटकीय पुलमा क्षति भएको बताए।
आगो पूर्णरुपमा निभाउन बाँकी रहेकाले आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इञ्जिनियर निरज शाक्यले बताए । पर्साको वीरगञ्जबाट सामान लिएर आएको ट्रकमा अचानक आगो लागेको थियो ।
‘ट्रकमा लोड भएकाले बिस्तारै हाँकेको थिएँ । कर्णाली पुलमा पुग्दा पुलमा एक युवकले कराउँदै ट्रकमा आगो भन्दै चिच्याउँदा मात्र पछाडिपट्टिको भागमा आगो लागेको थाहा पाएँ,’ चालक जगनाथ जोशीले भने ।
पर्साको न्यू वागेश्वरी ढुवानी सेवाले लोड गराएको तपन इन्टरप्राइजेजको एक हजार एक सय लाइटर कञ्चनपुरको शिवओम इन्टरप्राइजेजको भएको ट्रक चालक जोशीले बताए । ट्रकमा आगलागी हुँदा कञ्चनपुरको कृष्णपुर घर भएका ३६ वर्षीय जोशी र सहचालक दार्चुलाको शैलेश्वरी–८ का २४ वर्षीय धिरज जोशी मात्र सवार थिए । -रासस