वनका राजाको रिर्पोट ‘नेगेटिभ ’
आपसोती (सुर्खेत) । अरुलाई कोटको राजा र आफुलाई बोटको राजा भन्न मनपराउने राउटे समुदायको रिर्पोट नेगेटिभ आएको छ । गएको शनिवार सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आपसोती जनैघाट जंगलको भेरी नदि किनारमा बसोबास गर्दैै आएका ११ जना राउटेको कोभिड –१९ को रिर्पोट नेगेटिभ आएको हो ।
नेपालको सम्पदा र कर्णाली प्रदेशको गहना भनेर राउटे समुदायमा सामाजिक सेवा केन्द्र (सोसेक) र गुराँस गाउँपालिकाको समन्वयमा स्वास्थ्य परिक्षण गरिएको थियो । लोपोन्मुख जातिमा कोरोना भाईरस संक्रमण भए नभएको जानकारी लिनको लागि एन्टिजेनबाट स्वाव परिक्षण गरिएको हो । परिक्षण गर्ने सबै राउटे नमानेपछि ११ जना पुरुषको मात्र स्वाव परिक्षण गरिएको हो । आफ्नो कुल धर्म विरुद्ध हुने भएकाले राउटे महिलाले स्वास्थ्य परिक्षणलाई अस्वीकार गरेका थिए ।
स्वाव परिक्षण गर्नु अघि राउटेका मुखिया सुर्यनारायण शाही आफ्नो जनतामा कोरोना नलागेको स्वाव परिक्षण नगर्न आग्रह गर्दै आएका थिए । ‘मेरो जनता सँग कोरोना छैन । हामी सरसफाई गरेका छौं किन स्वाव लिनु प¥यो,जनता डराउँछ । कहिल्यै पनि तपाईको जस्तो उपचार गरेको छैन बरु हाम्रो समुदायमा गैरराउटेलाई आउन नदिन प्रहरी पठाई दिनुहोला मुखियाले आग्र्रह गरे ।
केही दिन अगाडी राउटे समुदायका युवक शिवराज शाहीको मृत्युपछि कोरोना आशंमा स्वाथ्य परिक्षण गरिएको सहयोगी संस्था सोसेकले जनाएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएपनि राउटे नागरिकहरुले पालना गर्दैनन् । उनिहरुलाई खाद्यान्नको जोहो गर्न अहिले पनि विभिन्न र गाउँ र बजार डुलिरहनुपर्ने बाध्यता छ । कोरोना संक्रमणको आशंकमा राउटे नागरिकहरुको परीक्षण गरिएको हो सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापाले बताए ।
राउटे नागरिकहरुलाई स्थायी बासिन्दाको सरकारी प्रमाणपत्र दिएको गुराँस गाउँपालिकाका स्वाथ्यकर्मीको टोलीले बस्तीमै पुगेर कोरोना परिक्षण गरेको हो ।
अघिल्लो साता मात्रै राउटे युवा शिवराज शाहीको निधनपछि राउटे समुदायमा पनि कोरोना संक्रमण फैलिएको आशंका गरिएको थियो । राउटे समुदायमा हुने हरेक गतिविधिमा अगुवाई गर्दै आएका शिवराज २०७६ जेठ ५ देखि ११ गतेसम्म सञ्चालन भएको काठको निर्माण सम्बन्धि तालिममा सक्रियता पूर्वक सहभागि भएका थिए ।
राउटे समुदायका अगुवा समेत रहेका शिवराजको मृत्युपछि सामाजिक विकास मन्त्रालय, गुर्भाकोट नगरपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र गुराँस गाउँपालिकाको संयुक्त प्रयासमा परीक्षण गरिएको हो । एन्टिजेट विधिबाट कोरोना परीक्षण गराएका सबैको रिपोर्ट नेगेटिभ आएको गुराँस गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक निराजन विष्टले जानकारी दिए । ‘गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली सहित बस्तीमै पुगेर राउटे नागरिकहरुको कोरोना परीक्षण गराएका छौ,’ विष्टले भने ‘परीक्षण गराएका सबैमा कोरोना संक्रमण देखिएन् ।’
