सुर्खेतमा यौनजन्यको पर्दाफास, होटल सञ्चालकसहित २५ जना पक्राउ
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विपरीत गतिविधिमा संलग्न भएको अभियोगमा २५ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, मिति २०८२ साल जेठ ३० गते राती करिब ११ः३० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ६, बुद्धपथस्थित हार्दिक, दंगाली र विकास होटलहरूमा अशान्ति, अश्लीलता तथा अवाञ्छित गतिविधिहरू भइरहेको सूचना प्राप्त भएपछि विशेष प्रहरी टोली खटाइएको थियो ।
उक्त होटलहरूबाट महिला ११ जना र पुरुष १४ जना गरी जम्मा २५ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विपरीतको कसुरमा संलग्न रहेको आरोपमा मुद्दा दर्ता गरी म्याद थप गर्दै अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए।
प्रहरीले होटल सञ्चालकहरूलाई समेत नियन्त्रणमा लिएको बताइएको छ। अनुसन्धानपछि आवश्यक कानुनी कारबाही अगाडि बढाइने जनाइएको छ ।

