दरबारमार्गमा लिफ्ट दुर्घटना : दुई मजदुरको मृत्यु
काठमाडौँको दरबारमार्ग स्थित हिटीपोखरी नजिक निर्माणाधीन भवनमा लिफ्टको सिक्री चुँडिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली घर भएका करिब ३२ वर्षीय प्रदेशी चौधरी र बर्दिया घर भएका करिब २२ वर्षीय विशाल चौधरी छन् ।
पोतला डेभलपमेन्ट प्रालिको निर्माणाधीन ९ तले पक्की घरको चौथो तलामा लिफ्टमा चढेर ग्रिज लगाउँदै गर्दा सिक्री चुँडिएर दुई मजदुरको ज्यान गएको छ।
घटना सोमबार साँझ ५ बजेको हो । उनीहरू निर्माणाधीन ९ तले भवनमा काम गर्दै आएका थिए । दुवैको शव वीर अस्पतालमा राखिएको छ ।
