भोटेकोसी बाढी: एकको सनाखत, चार मानव अंग फेला
काठमाडौं । रसुवागढीस्थित भेटेकोसी नदीमा आएको बाढीमा प्रहरीसहित बेपत्ता २० जना मध्य ५ जनाको शव र चार मानव अंग फेला परेको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा मृत भेटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको मात्र सनाखत भएको छ।
उनको समेत हालसम्म ५ वटा शव र चार जनाको मानव अंग फेला परेको हो।
सबै शव तथा मानव अंग काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। डीएनए परिक्षणबाट मानव अंग पत्ता लगाइनेछ।
बाढीमा बेपत्तामध्ये अझै १९ जनाको अवस्था थाहा हुन बाँकी रहेको पनि बताइएको छ। बाढीमा अझै २ प्रहरी, ६ चिनियाँ नागरिक र ११ नेपाली बेपत्ता छन्।
बेपत्ताहरू पत्ता लगाउन विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा खोजी जारी राखिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सञ्जय सिंह थापाले बताएका छन्।




