पत्रकार भन्दै ठगी : नोट छाप्ने मेसिनसहित पर्दाफास
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार एक गोप्य सूचना पाप्त गर्यो । दिउँसो १ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका– १०, शान्ति टोल बस्ने जाजरकोटको कुशे गाउँपालिका– ५ की २२ वर्षीया दिलमाया सिंहले खोटा मुद्रा (नक्कली रुपैयाँ) चलाउने गरेको गोप्य सूचनाका आधारमा प्रहरीको अनुसन्धान टोली खटियो ।
उक्त टोलीले दिलमायाको साथबाट १ हजारदरका ६ थान नक्कली नोट फेला पार्यो । नक्कली नोटसहित दिलमायालाई पक्राउ गरेको प्रहरी यत्तिमा रोकिएन । दिलमायालाई पक्राउ गरेको प्रहरीको अनुसन्धानले थप मोड लियो । दिलमायालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको सुर्खेत प्रहरीले साँझ ६ बजे थप अर्को व्यक्तिलाई प्रक्राउ गर्यो ।
जाजरकोटको कुशे गाउँपालिका–५, खुर्पाका ३३ वर्षीय रामबहादुर सिंह तथा निज दिलमायाको कोठामा लुकाई छिपाई राखेको अवस्थामा १२ लाख ३६ हजार रुपैयाँ नक्कली नेपाली नोट बरामद गर्यो । नक्कली नोटसहित प्रक्राउ परेका उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरेपछि प्रहरीको टोली छिन्चुतर्फ मोडियो ।
नक्कली नोटका कारोबारीलाई ट्र्यापमा पारेको प्रहरीले सोही दिनको राति करिब १० बजेको समयमा अवैध ११ किलोग्राम लागुऔषध अफिमसहित जाजरकोटको कुशे गाउँपालिका– ७ घर भई हाल सुर्खेतको भेरीगंगा नगरपालिका– १२, ठकुरीटोलमा डेरा गरी बस्ने ३५ वर्षीय कृष्णबहादुर वली र ३८ वर्षीय प्रेमबहादुर विकलाई कोठाबाटै नियन्त्रणमा लियो ।
नक्कली नोटबाट सुरु भएको प्रहरीको अुनसन्धान यत्तिमै टुंगिएन । नक्कली नोट र अफिम कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेपछि प्रहरीको अनुसन्धान बाँकेको कोहलपुरतर्फ मोडियो । मंगलबार बिहान साढे ८ बजे कोहलपुर पुगेको सुर्खेत प्रहरीले थप नयाँ रहस्यसहित एक जनालाई पक्राउ गर्यो ।
लागुऔषध अफिम र जाली नोट कसुरमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले पत्रकारको आवरणमा आपराधिक गिरोहको कमान्ड गरिरहेका एक जनालाई नियन्त्रणमा लिन सफल भयो ।
बाँकेको कोहलपुर नगरपालिका– ११, न्युरोडस्थित जनगर्जन नेटवर्क प्रालि नामक मिडियाको आवरणमा नक्कली नोटको कारोबारसँगै नक्कली नोट बनाउने गैरकानुनी कार्यमा संलग्न कालीकोटको नरहरिनाथ गाउँपालिका– ४ घर भएका मनबहादुर सहकारीलाई प्रहरीले पक्राउ गरेको हो । आफूलाई पत्रकार बताउने सहकारीको कोठाबाट ५१ हजार रुपैयाँ नक्कली नोट बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए ।
शाहीका अनुसार सहकारीको कोठाबाट १९ ग्राम लागुऔषध अफिमका साथै नक्कली नोट बनाउन प्रयोग गरिने प्रिन्टर एक थान, कम्युटर एक थान, कार्डरिडर एक थान, मेमोरी एक थान र क्यामेरा एक थान बरामद गरिएको छ । पक्राउ परेकाहरूमाथि लागुऔषध तथा जाली नोट कारोबारी उद्योगमा मुद्दा चलाउने तयारी रहेको शाहीले बताए ।
प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकाहरूले झण्डै २ लाख रुपैयाँ सक्कली नोटसँग साटिसकेकाले कारोबार गर्दा सचेत रहन प्रहरी उपरीक्षक शाहीले अनुरोध गरे । पछिल्लो समय सुर्खेत प्रहरीले लागुऔषध नियन्त्रणको अभियानलाई तीव्र बनाएको छ । केही समयअघि सुर्खेतको छिन्चुबाट प्रहरीले पाँच किलोग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको थियो ।
