“देश-विदेशमा जागिर दिलाइदिने झुटो सपना: स्काइ ड्रिमको ठगी काण्ड पर्दाफास”

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कार्यालय स्थापना गरी ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वीरेन्द्रनगर–३ स्थित मुलपानी चोकनजिक स्काई ड्रिम अन्टरपेनर्स प्रालि स्थापना गरी युवायुवतिलाई आकर्षक तलबसहित रोजगारी लगाउने प्रलोभनमा ठगी गरिरहेको गिरोह पक्राउ परेको हो।
नेटवर्किङ व्यवसायको आवरणमा ठगी धन्दा गरिरहेका ८ जनालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए। पक्राउ पर्नेहरुमा डोटीको सायल गाउँपालिका–२ का २६ बर्षिय नरेश बोहोरा, दार्चुलाको महाकाली गाउँपालिका–४ का २४ बर्षीय कृष्ण धामी, अछामको कमलबजार नगरपालिका–६ का २४ बर्षीय कमल शाही, २२ बर्षीय वीरेन्द्र शाही, कञ्चनपुरको महाकाली नगरपालिका–२ का २२ बर्षीया मनिषा सिंह छन् ।
यस्तै पक्राउ पर्नेमा कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–१ का २१ बर्षीया निर्मला धामी, बैतडीको सिगास गाउँपालिका–६ का २२ बर्षीया सुनिता साउद र डोटीको बडीकेदार गाउँपालिका–४ का २२ बर्षीया कमला चिमला रहेका छन्।
उनीहरु वीरेन्द्रनगरमा खोलेको स्काई ड्रिम अन्टरपेनर्स प्रालिमा व्यवस्थापक एवम् कर्मचारीको पहिचानमा ठगी धन्दा गरिरहेको प्रहरीले जनाएको छ। उनीहरुले ग्लोबल ओरियन्स नेपाल प्रालिमा सीप सिकाएर रोजगारी लगाईदिने भन्दै एक जना व्यक्तिबाट २० हजार रुपैयाँ असुली गरेका थिए।
रकम असुली गरी आफूसँग लिएका युवायुवतिहरुलाई आफूमातहत सदस्य बनाएर ५० हजार देखि २ लाख ६० हजार रुपैयाँसम्म उठाउन पनि लगाएका थिए। स्काई ड्रिम अन्टरपेनर्सविरुद्ध ठगी गरेको जाहेरी परेपछि प्रहरीले निगारानी बढाएको थियो। यसअघि प्रहरीले स्काई ड्रिम अन्टरपेनर्सको कार्यालयमा एक साताअघि ताला लगाईदिएको थियो।