भक्तपुरमा दुःखद घटना : सुर्खेतकी दिदीबहिनीले गुमाए ज्यान

भक्तपुरमा दुई दिदीबहिनी मृतावस्थामा फेला परेका छन् । मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारस्थित निरज चक्रधरको घरमा डेरा गरी बस्ने दुई दिदीबहिनी बिहीबार बिहान मृतावस्थामा फेला परेका हुन् ।
प्रहरी वृत्त थिमिका अनुसार सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल घरको प्यासेजमा एउटै डोरीले झुन्डिएर मृतावस्थामा फेला परेका हुन् । मृतक मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए ।
घरधनीका अनुसार दुई साताअघिमात्र ती किशोरीहरु डेरामा बस्न आएका थिए । प्रहरीका अनुसार मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको छ ।
मृतकको आफन्त सम्पर्कमा आइनसकेकाले उनीहरू आएपछि घटनास्थलको मुचुल्का हुने प्रहरी नायव उपरीक्षक नवराज ढुङ्गानाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।