दैलेखको ठाटिकाँधमा ५३२ घरको बीमा

सुर्खेत । कर्णाली प्रदेश सरकारले सुरु गरेको घर बीमा कार्यक्रमले प्रदेशभरका नागरिकलाई राहत दिन थालेको छ। उक्त योजनामा दैलेख जिल्लाको ठाटिकाँध गाउँपालिकाले पनि ५३२ घरधुरी उक्त बिमा योजना अन्तर्गत समेटिएका छन्।
प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि सुरु गरेको घर बीमा योजना भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागीजस्ता प्राकृतिक विपद्बाट घरमा हुने क्षति न्यूनीकरण गर्न ल्याइएको हो। बीमित घरधुरीले अधिकतम २० लाख रुपैयाँसम्मको बीमा सुविधा पाउनेछन्, र सोभन्दा बढी बीमा खर्च घरधनीले आफैं व्यहोर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ।
ठाटिकाँध गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाहका अनुसार, कर्णाली प्रदेशजस्तो प्राकृतिक जोखिम बढी हुने क्षेत्रमा बीमा कार्यक्रमले ठूलो राहत दिने बिश्वास लिएकाे बताएका छन।
प्रदेश सरकारले आगामी वर्षहरूमा योजनालाई अझ विस्तार गरी थप घरधुरीलाई समेट्ने तयारी गरिरहेको छ। बीमा योजनाले विपद्को बेला नागरिकलाई आर्थिक भारबाट जोगाउन मद्दत पुर्याउने विश्वास गरिएको छ।