किसानका हातमा ४३ मौरीघार, गाउँमा नयाँ आशा
दैलेख । ग्रामीण अर्थतन्त्रमा नयाँ उत्साह जगाउने उद्देश्यका साथ दैलेखको ठाटीकाँध गाउँपालिकामा मौरीपालन व्यवसाय विस्तार अभियान सुरु गरिएको छ। व्यवसाय प्रवर्द्धनका लागि मौरीपालक महासंघसँगको सहकार्यमा गाउँपालिकाका ११ जना किसानलाई ४३ घार मौरी हस्तान्तरण गरिएको हो।
कार्यक्रममा ठाटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाह र मौरीपालक महासंघ कर्णाली प्रदेशका अध्यक्ष लिलाराम ढकाले किसानहरूलाई मौरीका घार हस्तान्तरण गरेका थिए । यो पहलले गाउँमा मौरीपालन व्यवसायलाई व्यावसायिक र आधुनिक रूपमा विस्तार गर्ने विश्वास लिइएको छ। यसअघि किसानहरूलाई मौरीपालनसम्बन्धी आवश्यक तालिम प्रदान गरिएको थियो। तालिममा मौरी पालनका प्रविधि, घार व्यवस्थापन, मह सङ्कलन र बजारिकरणका विषयमा व्यावहारिक सीप सिकाइएका थिए। तालिम पछि ती किसानहरूलाई मौरी वितरण गरिएको हो ।
यो कार्यक्रम एईआइएन लक्जेम्बर्ग र ठाटिकाँध गाउँपालिकाको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित सहकार्य परियोजना अन्तर्गत गरिएको हो। उक्त परियोजनामा ठाटीकाँध गाउँपालिका, र मौरीपालक महासंघ कर्णाली प्रदेश, बीचको सहकार्य रहेको छ। परियोजनाअन्तर्गत मौरीपालक महासंघले १० घार, गाउँपालिकाले र सोसेकले ३३ घार गरी जम्मा ४३ घार मौरी हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाह ले मौरीपालनलाई स्थानीय स्तरमा आम्दानीको नयाँ माध्यमका रूपमा विकास गर्न सकिने बताए । उनले भने, “मौरीपालनले वातावरण संरक्षण, कृषि उत्पादन वृद्धि र गाउँमा रोजगारी सिर्जना गर्न मद्दत गर्छ। यसलाई दीगो व्यवसायका रूपमा विस्तार गर्न पालिकाले आवश्यक सहयोग गर्नेछ।”
त्यस्तै, मौरीपालक महासंघका अध्यक्ष लिलाराम ढकाले मौरीपालनले कर्णाली प्रदेशमा ठूलो सम्भावना बोकेको बताए। उनका अनुसार, “यहाँको वातावरण, वनस्पति र जडीबुटी मौरीपालनका लागि उपयुक्त छन्। किसानले यस पेशाबाट राम्रो आम्दानी गर्न सक्छन्।” संघले किसानहरूलाई निरन्तर तालिम र बजार सञ्जालमा सहजीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
मौरीका घार पाएका किसानहरू पनि अत्यन्त उत्साहित देखिए। किसान मनसरा रोकाया, हर्क थापा, र मदन जुल्मी मगर ले मौरीपालनले गाउँमै बस्न र जीविकोपार्जन गर्न प्रेरणा दिएको बताए। उनीहरूले तालिमपछि प्राप्त गरेको सीपलाई व्यवहारमा उतार्ने र मौरीको घार विस्तार गर्ने योजना बनाएका छन् ।
किसान मनसरा रोकायाले भनिन्, “पहिले मौरीपालनको ज्ञान थिएन, तर तालिमले आत्मविश्वास बढायो। अहिले आफ्नै मौरी राखेर मह उत्पादन गर्ने लक्ष्य लिएको छु।” त्यस्तै हर्क थापाले भने, “यो व्यवसायले गाउँमा रोजगार सिर्जना गर्छ। अब हामी शहर धाउनुपर्ने छैन ।”
मौरीपालनले गाउँमा कृषि उत्पादनसँगै वातावरणमैत्री जीवनशैलीलाई पनि प्रवर्द्धन गर्ने विश्वास लिइएको छ। विशेषज्ञहरूका अनुसार मौरीहरूले फूलफूलमा परागसिंचन गरेर बालीको उत्पादन बढाउँछन्, जसले किसानको आम्दानी दोब्बर बनाउन सक्छ ।
गाउँपालिकाले आगामी वर्षमा मौरीपालन विस्तारका साथै मह प्रशोधन, प्याकेजिङ र बजारिकरणमा पनि लगानी गर्ने योजना बनाएको छ। अध्यक्ष शाहका अनुसार, “गाउँमै मौरीको गुन्गुनले मात्र होइन, किसानको जीवनमा पनि समृद्धिको स्वर गुन्गुनाउने समय आएको छ ।” यसरी, सहकार्य र सीपले ठाटीकाँधका किसानहरूमा आत्मनिर्भर बन्ने आत्मविश्वास भरिएको छ। मौरीका घारसँगै उनीहरूको भविष्य पनि चम्किलो हुने आशा लिइएको छ।
