कांग्रेसको बैठक जारी: महाधिवेशन र चुनाव तयारीमा जोड
काठमाण्डाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ। हिजोदेखि सुरु भएको बैठकमा पार्टीको आन्तरिक संगठन सुदृढीकरण, १५ औँ महाधिवेशनको तयारी, क्रियाशील सदस्यता नवीकरण तथा समसामयिक राजनीतिक अवस्थाबारे विस्तृत छलफल भइरहेको छ।
बैठकमा १५ औँ महाधिवेशनलाई समयमै र व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयलाई उच्च प्राथमिकतामा राखिएको छ। महाधिवेशनले पार्टीको भावी नेतृत्व चयन गर्ने मात्र होइन, आगामी निर्वाचनका लागि नीति, कार्यक्रम र रणनीति तय गर्ने भएकाले यसको तयारीलाई गम्भीरतापूर्वक अघि बढाउनुपर्नेमा नेताहरू सहमत देखिएका छन्।
यसका साथै बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही, विपक्षी दलहरूको गतिविधि र जनतामा बढ्दो असन्तुष्टिबारे पनि समीक्षा गरिएको छ। कांग्रेसले लोकतन्त्र, संविधानको रक्षा, सुशासन र आर्थिक सुधारका मुद्दामा स्पष्ट धारणा लिएर जनतामाझ जानुपर्ने आवश्यकता औंल्याइएको छ।
आजको बैठकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह लामा तामाङ, रमा कोइराला, टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यँदेवी तिमिल्सीना, शान्ति परियार वि.क., लक्ष्मी खतिवडा, आमन्त्रित सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापतिहरु इन्द्रबहादुर बाँनिया (बागमती) र अमरसिंह पुन (लुम्बिनी) ले आ–आफ्नो धारणा राख्नुभएको छ ।
कांग्रेस केन्द्रीय समितिको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने छ।
