हावाहुरीले दैलेखमा मकैबाली नष्ट
लगातारको वर्षासँगै आएको हावाहुरीले दैलेखको चामुण्डा नगरपालिका १ र नारायण नगरपालिका –७ का किसानले लगाएको मकैबाली नष्ट भएको छ । हावाहुरी नारायण
नगरपालिकामा ३७ रोपनी क्षेत्रफलमा लगाएको मकैबाली नष्ट गरेको छ भने चामुण्डाविन्द्रासैनी नगरपालिकमा ४० भन्दा बढी रोपनी नष्ट गरेको स्थानीय बासीले बताउँछन् ।

दाना लाग्ने अवस्थामा रहेको मकैबाली नष्ट भएपछि किसान चिन्तित बनेका छन् । आइतवार राति पानीसँगै आएको हावाहुरीले वडा नं ७ का पृथबहादुर थापाको पाँच रोपनी, मानबहादुर थापाको ६ रोपनी, भीमबहादुर थापाको पाँच रोपनी, तेजबहादुर थापाको दुई रोपनी, जगत महतराको पाँच रोपनी, रेशम थापाको पाँच रोपनी, गणेश थापाको दुई रोपनी, गणेश खत्रीको दुई रोपनी, तेजबहादुर महतराको दुई रोपनी, अमरबहादुर खनालको दुई रोपनी गरी ३६ रोपनी क्षेत्रमा लगाइएको मकैबाली पूर्णरूपमा नष्ट गरेको छ ।
पीडितले राहत र क्षतिपूर्तिका लागि कृषि विकास कार्यालय, नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन् ।
